कोरोनाबाट मृत्यु हुने एक लाख ५० हजार नाघ्यो

नेपालगन्ज : कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वभर मृत्यु हुनेको संख्या एक लाख ५० हजार नाघेको छ ।
विश्वव्यापी रुपमा कोरोना अपडेट गर्ने वेभसाइट वल्र्डोमिटर्स डट इन्फोका अनुसार शुक्रबार राति ११ः३० बजेसम्म विश्वभर कोरोनाबाट एक लाख ५० हजार आठ सय ३६ जनाको मृत्यु भइसकेको छ । विश्वभर संक्रमितको संख्या भने २२ लाख ३१ हजार चार सय ३८ रहेको छ ।
सबैभन्दा बढी संक्रमित र मृत्यु अमेरिकामा छन् । ६ लाख ८४ हजा चार सय ३१ जना संक्रमित रहेकोमा ३५ हजार पाँच सय ७८ जनाको मृत्यु भइसकेको छ । शुक्रबार मात्र अमेरिकामा ९ सय ६१ जनाको ज्यान गएको थियो ।
दक्षिणी छिमेकी भारतमा चार सय ५२ जनाको ज्यान गएको छ । त्यहाँ १३ हजार आठ सय ३५ जना संक्रमित छन् । नेपालमा शुक्रबार उदयपुरमा एकैदिन १४ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालमा कूल संक्रमितको संख्या ३० पुगेको छ । कोरोनाबाट अहिलेसम्म कसैको पनि मृत्यु भने भइसकेको छैन ।