नरैनापुरमा ३१ जना मौलाना, ७ पूजारीसहित ५६ जनाको कोरोना जाँचका लागि स्वाब संकलन

मुस्लिम आयोगद्वारा गठित अनुगमन समितिद्वारा नरैनापुर गाउँपालिका र नेपालगन्जका मस्जिद र मदरसाहरुको अनुगमन
नरैनापुरमा मस्जिदको अनुगमन गर्दै टोली । इन्सेटका कोरोना जाँचका लागि स्वाब संकलन गरिँदै । फोटो सौजन्य : आलम खान

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकामा मुस्लिम र हिन्दु धर्मगुरुसहित ५६ जनाको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको छ ।
मुस्लिम आयोगद्वारा गठित जिल्ला स्तरीय अनुगमन समितिको नेतृत्वमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेको टोलीले शुक्रबार मुस्लिम धर्मका ३१ जना मौलाना, हिन्दु मन्दिरका ७ जना पूजारी, क्वारेन्टाइनमा रहेका १५ जना, क्वारेन्टाइनमा कार्यरत २ जना स्वास्थ्यकर्मी र सहयोगी १ जना गरी ५६ जनाको स्वाब संकलन गरिएको नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

मस्जिद र मदरसाको अनुगमन
राष्ट्रिय मुस्लिम आयोगद्वारा गठित अनुगमन समितिले शुक्रबार बाँकेको नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाँउपालिकाका मस्जिद र मदरसाहरुको स्थलगत अनुगमन गरेको थियो ।
मुस्लिम आयोगको अनुगमन समितिका संयोजक पूर्वसविधानसभा सदस्य हाजी अब्दुल हमीद सिद्धिकिीले नरैनापुरका ३० वटा मस्जिद र मदरसाहरुको अनुगमन गर्दा मस्जिदमा २ जना भन्दा बढी व्यक्तिहरु नपाइएको र मस्जिद रहेकाहरु अधिकांश नेपाली नागरिक भएको जानकारी दिएका छन् ।
अनुगमनमा नरैनापुर गाँउपालिका अध्यक्ष इस्तियक अहमद शाह, समितिका सदस्य एंव थर्ड एलायन्सका प्रमुख आलम खान, सदस्य एंव हज समितिका सदस्य मेराज अहमद हल्वाई, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष एंव अनुगमन समितिका समन्वयकर्ता मोहम्मद सफिक बेहनाको टोलीले अनुगमन गरेको थियो । समितिले मस्जिदभित्र बस्ने र सर्वसाधारणलाई लकडाउनको पालना गर्न र कोरोना परीक्षण गराउन आग्रह गरेकोको थियो ।
यस्तै अनुगमन समितिले नेपालगन्जमा रहेको मदिना मस्जिद र दारुल उलुम फैजुन नबी जामा मस्जिदको समेत अुनगमन गरेको समितिका प्रवक्ता आलम खानले जानकारी दिएका छन् । उनले जिल्लामा रहेका सबै मस्जिदहरुको अनुगमन गरिने बताए ।