‘हट स्पट एरिया’ मा कोरोना उपचार ‘होम क्वारेन्टाइन’

एक जनामा कोरोना पोजेटिभ भेटिएपछि नेपालगन्जीयाका फेसबुक भित्ता कोरोनाबाट कसरी जोगिने भन्ने चासो, चिन्ता र सुझावले भरिएका छन्

नेपालगन्ज : पीडा आफूू समस्यामा पर्दा मात्र थाहा हुन्छ भन्ने उक्ति नेपालगन्जमा पनि चरितार्थ भएको छ । जहाँ लकडाउनका बेला एक पाउ तरकारी किन्न हुलका हुल मानिसको ओइलो लाग्थ्यो । प्रहरी प्रशासनलाई त्यो भींड थामिसक्नु थिएन । खाद्यवस्तुको आवश्यकताले होस् वा बजार टहल्ने विभिन्न बाहानाले पनि सहरमा लकडाउनमा उल्लंघन जारी थियो ।
शुक्रबार नेपालगन्जमा ६० वर्षका वृद्धमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालगन्जवासीलाई डर, त्रास र शंकाले घेरेको छ । नेपाल टेलिभिजन कोहलपुरका प्रमुख विजय वर्माको फेसबुक स्टाटस अनुसार नेपालगन्ज अहिले ‘हट स्पट एरिया’ भएको छ ।
सहर फन्को मारेको अनुभव पत्रकार विजय मल्ल फेसबुकमा लेख्छन्, ‘हेल्लो नेपालगन्जीया आरामै हो । अन्य दिनभन्दा आज नेपालगन्जमा घमण्ड र सानका साथ दादागिरी देखाउँदै हिड्ने हामी नेपालगन्जीयाहरु कोही पनि देखिएनौं । कुन दुलोमा लुकेका छौं …।’
रेडियो भेरीका स्टेशन प्रमुख मोहम्मद आरिफ अन्सारी (अमन अन्सारी) ले आफ्नै टोलमा बाहिरबाट ल्याएर स्वाब संकलन गरिएका व्यक्तिमा कोरोना पुष्टि भएपछि संक्रमण फैलिने खतराबारे चिन्ता व्यक्त गर्दै लेखेका छन्, ‘फूलवारी मस्जिद टोलवासी आतंकित भएका छन्, पोजेटिभ व्यक्ति यता आएका थिए भनेर ।’
डा. विनोद कर्ण त कोरोना संक्रमित व्यक्तिको स्वाब संंकलन गर्न गएको पूरै टिमलाई क्वारेन्टाइनमा राख्न पर्ने कि नपर्ने भनेर सम्बद्ध निकायसँग प्रश्न सोधिरहेका छन् ।
बरिष्ठ पत्रकार तथा जनमत अद्र्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुकेले नेपालगन्जको सामाजिक सदभाव कायम गर्ने गरी मात्र सामाजिक सन्जालको प्रयोग गर्न सुझाव दिँदै लेख्छन्, ‘सदभावको सहर भनेर पहिचान बनाएको नेपालगन्जका वासिन्दाले कम्तीमा सामाजिक सदभाव भड्किने खालका विचार र प्रतिक्रिया सामाजिक सञ्जालमा पोस्ट् गरेर नेपालगन्जको नूर झुकाउने काम नगरौं ।’ अर्का पत्रकार कमल डाँगीले पनि हरेक कुरालाई जाति, धर्म, सम्प्रदायको नजरले नहेर्न आग्रह गरेका छन् । सामाजिक अभियन्ता हेमन्तराज काफ्लेले पनि सदभावको सहरमा आफूलाई नेपालगन्जीया भन्न पाउँदा गर्व हुने उल्लेख गरेका छन् ।

प्रेस यूनियन बाँकेका अध्यक्ष तथा नागरिक दैनिक संवाददाता अर्जुन ओलीले पत्रकारलाई संक्रमितको पहिचान गोप्य राख्न आग्रह गरेका छन् । बरिष्ठ पत्रकार तथा कालपृष्ठ दैनिकका सम्पादक हेमन्त कर्माचार्यले पत्रकारलाई ‘फाइभ डब्लु वान एच’ पछ्याउँदै रिपोटिङ गर्न सुझाव दिएका छन् ।
लेखक, साहित्यकार, अध्यापक तथा मनोपरामर्शकर्ता भोजराज शर्माले अस्पताल, आइसोलेसन वार्डलगायतका स्वास्थ्य सुविधा भएको, एकता र सदभाव कायम भएकाले नेपालगन्जवासीलाई नडराउन आग्रह गर्दै फेसबुक स्टाटसमा लेखेका छन्, ‘विश्वभर ९७ प्रतिशत कोरोना प्रभावित सामान्य लक्षणका छन् । जो निको हुनेछन् । स्थिति मनमा भयावह नबनोस् ।’

उद्यमी नीलराज अधिकारीले फेसबुकमा भिडियो सेयर गर्दै घरमै बसेर सर्तकता अपनाउन सुझाव दिँदै लेख्छन्, ‘नेपालगन्जमा समेत एक जनामा कोरोना संक्रमण भेटिएकाले सर्तकता अपनाउन जरुरी छ । ‘स्टे एट होम’, ‘स्टे सेफ ।’