संक्रमितले पढाउने मदरसा रहेको जोलाहनपूर्वा टोल नै बन्यो क्वारेन्टाइन

कोरोना संक्रमित व्यक्तिको परिवार र सम्पर्कमा रहेका ९० जनाको स्वाब संकलन
जोलाहनपूर्वामा संक्रमितसँग सम्पर्कमा रहेका ब्यक्तिको कोरोना जाँच गरिँदै । फोटो सौजन्य : खम्ब पुन

नेपालगन्ज : महेन्द्रपार्कस्थित इस्लामिया फैजुल इलम मदरसा रहेको नेपालगन्ज ८ जोलाहनपूर्वा टोललाई नै क्वारेन्टाइन बनाइएको छ ।
कोरोना संक्रमित ६० वर्षका व्यक्तिले सो मदरसामा पढाउने भएकाले धेरै जनासँग सम्पर्क रहेको भन्दै टोलमा ८३ जनालाई क्वारेन्टाइनमा राखिएको नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले जानकारी दिइन् । टोललाई क्वारेन्टाइन बनाइए पनि उनीहरु सबैले आआफ्नो घरमै खाने बस्ने गर्र्नेछन् । टोलमा बाहिरको मानिसलाई जान आउन रोकिएको छ । संंक्रमित ब्यक्तिका परिवारका ७ जना सदस्यलाई भने महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ ।
परिवारका सदस्यसहित शनिबार ९० जनाको कोरोना जाँचका लागि स्वाब संकलन गरिएको थियो ।
त्यसैगरी, नेपालगन्जको धम्बोझी मस्जिदका कोरोना शंकास्पद युवकको भने शुक्रबार नै कोेरोना रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए । कोरोना रिपोर्ट नेगेटिभ आए पनि सात दिनपछि पुनः कोरोना जाँच्नका लागि खजुरास्थि क्यान्सर अस्पतालमै राखिएको छ ।