प्रदेश र संघीय सरकारद्वारा बाँकेको कोरोना नियन्त्रण प्रयासको अवस्थाबारे स्थलगत अवलोकन

खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनको अवलोकन गर्दै प्रदेशमन्त्री सुदर्शन बराललगायत । फोटोे सौजन्य : रुद्र सुवेदी

नेपालगन्ज : संघीय सरकार र प्रदेश सरकारका प्रतिनिधिले बाँकेमा स्थलगत अवलोकन गरी कोरोना नियन्त्रणका लागि भइरहेका प्रयासबारे जानकारी लिएका छन् ।
आइतबार एकैदिन १५ जनामा कोरोना संक्रमण देखिएपछि प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा.प्रकाश बुढाथोकी, संघीय स्वास्थ्य तालिम केन्द्रका यदुचन्द्र घिमिरेको टोलीले भेरी अस्पतालको कोरोना प्रयोगशाला, खजुराको क्यान्सर अस्पतालमा रहेको आइसोलेसन कक्ष, तेस्रो चरणको कोरोना अस्पताल घोषणा गरिएको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा पुगेर कोरोना नियन्त्रणको अवस्थाबारे जानकारी लिएको थियो ।
अवलोकन गर्ने टोलीमा प्रदेशसभा सदस्य कृष्णा केसी नमूना, भेरी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाशबहादुर थापालगायतको टोली रहेको थियो । मन्त्री बरालले बाँकेका सुरक्षा अधिकारीसँग पनि भेटघाट गरेका थिए । मन्त्री सुदर्शन बरालले कोरोना सङ्क्रमित दैखिँदैमा त्रसित नभइ संयमित हुन आग्रह गरेका छन् । जिल्ला प्रशासन कार्यालय बाँकेमा आयोजित जिल्ला सुरक्षा समन्वय बैठकमा बोल्दै धैर्यताका साथ सबैले आ–आफ्नो भूमिका निर्वाह गर्न पनि आग्रह गरे । मन्त्री बरालले सङ्क्रमितको संसर्ग भएका र सम्पर्कमा आएका सबै व्यक्तिको खोजी गरी परीक्षण गर्न आग्रह गर्नुभयो । यस्तै मन्त्री बरालले कोरोना रोकथाममा खटिएका स्वास्थ्यकर्मीलाई उच्च मनोवलका साथ काम गर्न आग्रह गर्दै कोरोना भाइरसको सङ्क्रमण रोकथामको लागि प्रदेशका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई आवश्यक सामग्री र उपकरण सहितको सेवा सुविधा प्रदान गरिएको दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *