निषेधाज्ञा अघि नै किराना पसल बन्द गराउँदा व्यापारी र प्रहरीबीच झडप, प्रहरीको गाडी तोडफोड

नेपालगन्ज : नेपालगन्जको त्रिवेणी मोडमा मंगलबार बिहान व्यापारी र प्रहरीबीच झडप भएको छ ।
निषेधाज्ञा सुरु हुनुभन्दा एक घण्टा अगाडि नै प्रहरीले किराना पसल बन्द गर्न खोेजेपछि नेपालगन्ज ३ त्रिवेणी मोडमा प्रहरीले बिहान ९ः५० बजेतिर सन्जय किराना स्टोर अगाडि झडप भएको हो । प्रहरीले पसलका सन्चालक शिवकुमार गुप्ता, उनका छोरा रवि गुप्तालगायत चार जनामाथि आक्रमण गरेको घटनाका प्रत्यक्षदर्शी नेपाली काँग्रेसका क्षेत्रीय सभापति रमेशकुमार वैश्यले बताए । शिवकुमारको घुँडामा चोट लागेको छ । प्रहरीले रविलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयमा राखेको छ । झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुंगामुढाबाट प्रहरीको गाडी तोडफोड गरिएको वडा प्रहरी कार्यालयले जनाएको छ ।
वडा प्रहरी कार्यालय कार्यालय नेपालगन्जका इन्चार्ज इन्सपेक्टर हरिबहादुर बस्नेतले भने निधेषाज्ञानको समय आउनै लागेकाले भींडभाड नगरी पसल बन्द गर्न आग्रह गर्दा प्रहरीमाथि नै आक्रमण भएको जिकिर गरेका छन् ।