२ वटा पान पसलसहित नेपालगन्जका ५ ठाउँमा कोरोना परीक्षण सुरु

नेपालगन्जको महेन्द्र पार्क अगाडि स्वाब संकलन गरिँदै । फोटो सौजन्य : नरेशबाबु श्रेष्ठ

नेपालगन्ज : २२ जना संक्रमितको सम्पर्क र आवतजावत भएका नेपालगन्जका दुई वटा पान पसलसहित ५ ठाउँका सबै स्थानीयको कोरोना परीक्षण सुरु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार भैरव टोलको राजनको पान पसल, मन्डन मोहला (पान पसल), रानी तलाउको तरकारी मण्डी, नाउ टोल र टाँगा स्टेशनको किराना पसल क्षेत्रका व्यक्तिहरुमा कोरोना जाँच सुरु भएको हो ।
मंगलबार साँझ नेपालगन्ज ८ को महेन्द्रपार्क नजिक टेन्ट टाँगेर संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको स्वाबको नमूना संकलन सुरु गरिएको श्रेष्ठले जानकारी दिए ।
शुक्रबार नेपालगन्जमा एक जना ६० वर्षका वृद्धमा कोराना संक्रमण पाइएको थियो । उनको सम्पर्कमा रहेका ९४ जनाको जाँच गर्दा थप २२ जनामा कोरोना संक्रमण पाइएको हो । २२ जनाको सम्पर्कमा भएका ब्यक्ति र स्थान ट्रेस गरी कोरोना सुरु भएको छ । कोरोना जाँचका लागि मंगलबारदेखि २५ वैशाखसम्म नेपालगन्जमा निषेधाज्ञा जारी गरिएको छ ।