नेपालगन्जमा कोरोना संक्रमण : बर्दियामा लकडाउन कडा

मुरली गोडिया । गुलरिया (बर्दिया)
नेपालगन्जमा २३ जनामा कोरोना भाइरस संक्रमण भएपछि बर्दिया जिल्लामा लकडाउनमा कडाइ गराइएको छ ।
जिल्ला विपत् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले जिल्लामा दैनिक बिहान ११ बजेदेखि २ बजेसम्म खुल्दै आएका बजार अब सातामा तीन दिन मात्र खोलिने भएको जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहले बताए । उनले
निर्माण सामाग्री, खाद्यान्न ढुवानी र खाली फिर्ता, अन्य उपभोग्य सामग्री, कृषि मल लगायत ४ पांग्रे सवारी साधनबाट हुने ढुवानी बेलुकी मात्र गर्न पाइने निर्णय गरेको बताए ।
बढैयाताल गाउँपालिका र बाँसगढी नगरपालिकासँग जोडिएको मानखोलाबाट आवतजावतमा कडाइ गरिएको छ । सवारी पासको दुरुपयोग बढ्दै गएपछि यसलाई व्यवस्थित गर्न प्रहरीलाई निर्देशन दिइएको छ । कोरोना संक्रमित फेला परेपछि बाँकेको सिमाना शनिबारबाट कडाई गरिएको छ । विपद् व्यवस्थापन समितीको निर्णयलाई पुर्णरुपमा कार्यन्वयनमा ल्याउन प्रहरी थप सक्रियता बढाउने जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी नायव उपरीक्षक योगेन्द्रकुमार खड्का बताउँछन् ।
एम्बुलेन्स, खाद्यान्न, पेट्रोलियम पदार्थ, औषधि, लगायत अत्यावश्यक सामान ल्याउन छुट दिए पनि अन्य प्रयोजनका लागि आवागमन ठप्प गरिएको छ । बर्दिया जिल्ला खुला सिमानाकाका कारण उच्च जोखिममा रहेको मानिन्छ । कोरोना भाइरसको प्रभाव, बच्ने उपाय लगायतका चेतनामुलक सन्देश गाँउमा नपुगेका वर्ग एवं समुदायसम्म पु¥याउन अवश्यक रहेको नागरिक समाज सञ्जाल बर्दियाका संयोजक बालकृष्ण वलीले सुझाव दिए ।