बर्दियाको क्वारेन्टिनमा रहेका भारतीय नागरिक भन्छन: चाँडै घर जान पाउँ

मुरली गोडिया । बर्दिया
कोरोना संक्रमण रोकथामका लागि भन्दै मुलुक लकडाउन गरिएको आज ५० दिन पुगेको छ । कोरोना संक्रमण फैलिन नदिन नेपाल–भारत दुबै देश लकडाउन गरिएका छन । लकडाउनका कारण रोजगारीका लागि भारत गएका नेपालीहरु र भारतबाट नेपाल आएका भारतीयहरु दुबै देशमा अलपत्र परेका छन । लामो समयसम्मको बन्दाबन्दीका कारण दैनीक मजदुरी तथा ज्यालादारीमा काम गरि फर्केका भारतीय नागरिक तिनसाता देखि गुलरिया नगरपालिका वडा नम्बर १० स्थीत प्रयागपुरमा रहेको क्वारेन्टिनमा बसेका छन । ज्याला मजदुरी गर्न जुम्ला गएका सिमावर्ती क्षेत्रका १६ जना भारतीय २१ दिनदेखि त्यहाँ बसेपनी घरजान नपाएको दुखेसो गरेका छन । लामो समय देखि घर जान नपाउँदा घर परिवार समेत निकै समस्यामा परेको गुलरियाको सीमावर्ती चित्लहुवाका रमेश मधेसीयाले बताए । क्वारेन्टाइनमा बसेका १६ जनाकै सबै किसिमका परिक्षण गरेर नतिजा नेगेटिभ आएपनी घर जान नदिँदा निकै समस्या भएको उनको भनाई छ ।
गुलरिया नगरपालिकाले विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिको अवस्थाका बारेमा जानकारी लिने गरिएको जनाएको छ । प्रयागपुरमा रहेको क्वारेन्टाइनमा बसेका भारतिय नागरिकहरुलाई घर पठाउन दुबै देशका सरकारको नियम अनुसार समन्वय भइरहेको गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवले बताए ।
कोरोना भाइरसका कारण नेपाल र भारत लकडाउन हुँदा दुबै देशका नागरिक अलपत्र परेका छन । अलपत्र नागरिकहरुलाई समयमै व्यवस्थापन गर्न नसकिएका कारण उनीहरु घर जान नपाएर कष्टपुर्ण तरिकाले जीवन निर्वाह गर्न बाध्य छन ।