घर जान पाउने भनेपछि एक्कासी एक हजार भारतीय सीमा नाका पुगेपछि…

नेपालगन्ज : बाँकेका प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले बुधबारसम्म जिल्लाका विभिन्न स्थानका क्वारेन्टाइनमा एक सय ६८ जना मात्र भारतीय नागरिक भएको बताएका थिए । भारतको नानपारास्थित क्वारेन्टाइनमा भने चार सय ४६ जना नेपाली रहेका थिए । भारतीय पठाएर, नेपाली फिर्ता ल्याउने सहमति भएकोे थियो ।
नेपालगन्जका मिडियामा भारतीयलाई फिर्ता पठाउने खबर प्रकाशन, प्रसारण भएका थिए । क्वारेन्टाइनमा त एक सय ६८ मात्र थिए । दिउँसो तीन बजेसम्म क्वारेन्टाइनमा रहेका भारतीय सीमा नाका नपुग्दै सयौंको संख्यामा भारतीय सीमा पुगिसकेका थिए । महिला साना साना बालबच्चाहरुसँगै थिए । उनीहरुले घर फर्कन पाउने थाहा पाएपछि सीमामा पुगको बताएका थिए ।
भारतको मेरठ घर भएका मोहम्मद जाकिर घर फर्कन पाएकोमा खुसी देखिन्थे । ‘कोरोना परीक्षण भयो कि नाइ’, मेरो खुसीको जिज्ञासामा उनले आफू नेपालगन्जको एकलैनीस्थित मुसाफिर खानामा बस्ने गरेको बताएका थिए । नानपारा घर भएका अब्दुल रहमान भने खजुराबाट आएका थिए । जमुनाकामा दिउँसोसम्म ठूलो संख्यामा भारतीय भेला भइसकेका थिए । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा भन्दै थिइन्, ‘क्वारेन्टाइनमा रहेका त कोही आएकै छैनन् । अरु नै यतिका धेरै आइसके । उनीहरु कहाँ बसेका थिए ? हामीलाई त अत्तोपत्तो नै थिएन ।’
अधिकांशले घर जान पाउने भनेपछि सीमामा आएको बताएका थिए । भारतीय पक्षले जति नेपाली उताबाट आउँछन्, त्यत्ति नै भारतीयलाई फिर्ता लैजाने गाइगुँइ हल्ला चल्दा नेपाली अधिकारीहरु ठूलो संख्यामा रहेका भारतीयलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा चिन्तित थिए ।
साँझ साढे ७ बजेतिर मात्र भारतीयलाई फिर्ता पठाइएको थियो । त्यत्तिबेलासम्म नेपाली आएकै थिएनन् ।