भारतमा कोरोना संक्रमितको संख्या चीनभन्दा बढी

नेपालगन्ज : भारतमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या चीनको भन्दा बढी पुगेको छ । शनिबार बिहान ९ बजेसम्म चीनमा कुल ८२ हजार नौ सय ४१ जनामा संक्रमण देखिँदा भारतमा ८५ हजार सात सय ८४ पुगेको छ । उक्त संख्या चीनको भन्दा २ हजार आठ ४३ ले बढी हो । पछिल्लो २४ घण्टामा तीन हजार सात सय ८७ जनामा संक्रमण देखिएसँगै भारतमा चीनभन्दा बढी संक्रमितको संख्या पुगेको वल्डोमिटर डट इन्फोले जनाएको छ ।
संक्रमितको संख्या बढे पनि मुत्यु हुनेको संख्या भने चीनमा नै बढी छ । हालसम्म चीनमा ४ हजार ६ सय ३३ जनाको मृत्यु हुँदा भारतमा मृत्यु हुनेको संख्या दुई हजार सात सय ५३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा एक सय चार जनाको मृत्यु भएको थियो । त्यहाँ हालसम्म ५२ हजार सात सय ९७ जनाको उपचार भइरहेको छ भने अहिलेसम्म ३० हजार दुई सय ३४ जना निको भएका छन् ।
भारतमा सबैभन्दा बढी महाराष्ट्रमा २९ हजार १ सय जना संक्रमित फेला परेका छन । त्यस्तै तमिलनाडुमा १० हजार एक सय आठ, गुजरातमा नौ हजार चार सय ९५ र उत्तर प्रदेशमा चार हजार ५७ जनामा संक्रमण भएको कोभिड १९ इन्डिया डट ओआरजीले जनाएको छ ।