कोरोनाबाट दक्षिण एशियाका भारत, पाकिस्तानसहित ६ देशमा चार हजार ५१ जनाको मृत्यु (सूचीसहित)

नेपालगन्ज : दक्षिण एशियाका ६ देशमा कोरोना भाइरस (कोभिड १९) बाट चार हजार ५१ जनाको मृत्यु भएको छ ।
विश्वव्यापी कोरोना भाइरसको अवस्था अपडेट गर्ने वल्डोमिटर्स डट इन्फोको शनिबार बिहान ९ बजेसम्मको रेकर्ड अनुसार सार्कका ८ देशमा संक्रमितको संख्या एक लाख ५२ हजार पुगेको छ भने निको हुने ४६ हजार तीन सय ५९ जना मात्र रहेका छन् । नेपाल र भुटानमाबाहेक सबै देशमा कोरोनाबाट मृृत्यु भएको छ ।
कोरोनाबाट भारतमा मात्र दुई हजार सात सय ५३ जनाको मृत्यु भइसकेको छ । संक्रमितको संख्या पनि भारतमा सबैभन्दा बढी ८५ हजार सात सय ८४ जना पुगेका छन् ।
पाकिस्तानमा ८ सय ३४, बंगलादेशमा दुई सय ९८, अफगानिस्तानमा एक सय ५३, श्रीलंकामा ९ र माल्दिभ्समा ४ जनाको कोरोनाबाट ज्यान गएको छ । सबैभन्दा कम संक्रमित भुटानमा २१ र नेपालमा दुई सय ६७ जना छन् । भुटानमा पनि कोरोना संक्रमितको संख्या केही दिनदेखि बढेको छ ।
विश्वमा ४६ लाख २८ हजार तीन सय ५६ संक्रमितमध्ये तीन लाख ८ हजार ६ सय ४५ जनाको मृत्यु भइसकेको छ । जसमध्ये २७ लाख ५८ हजार ३९ जना निको भएर घर फर्केका छन् । विश्वमा सबैभन्दा बढी मृत्यु अमेरिकामा ८८ हजार पाँच सय सात जनाको भएको छ । संक्रमितको संख्या १४ लाख ८४ हजार दुई सय ८५ रहेको छ ।