बर्दियामा सुर्तिजन्य बस्तुमा कालोबजारी

५ रुपैयाँ पर्ने सुर्तिलाई ९० रुपैयाँसम्म बिक्री !

शक्ति परियार । राजापुर

बर्दियामा ५ रुपैयाँ पर्ने सुर्ती ९० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
लकडाउनको मौका छोपी व्यवसायीहरुले सुर्तिजन्य वस्तुको अस्वाभाविक रुपमा मूूल्य बृद्धि गरी मनलाग्दी असुल्ने गरेकोे मेरो खुसीले फेला पारेको छ ।
सुपरपावर र जी सुर्ती मात्र नभएर मेघाश्री, कमला पसन्द, शुुद्धप्लसलगायत विभिन्न सुर्तिजन्य बस्तुहरुको यतिबेला बर्दियाको राजापुरलगायत विभिन्न बजारहरुमा व्यवसायीले आफूखुसी मूल्य लिने गरेको स्थानीयले गुनासो गरेका छन ।
राजापुर ७ का स्थानीय तिलक विश्वकर्माले लकडाउन भन्दा पहिले ५ रुपैयाँ पर्ने जी सुर्तीको मूल्य ३० देखि ९० रुपैयाँसम्म पर्ने गरेको बताए । त्यस्तै १० रुपैयाँमा पाउने सुपरपावर सुर्ती पनि ६० देखि ९० रुपैयाँमा बिक्रि भइरहेको उनको भनाइ छ । बढी मूल्यबारे सोध्दा एक पसलेले लिने भए लिनु नलिने भए जानु भन्दै हाकाहाकी बढी पैसा असुलेको उनले बताए । राजापुर क्षेत्रका अधिकांश टोलहरुमा रहेका साना घुम्ती पसलहरुमा मेघाश्री नामको गुट्खालाई प्रति प्याकेट १० देखि १५ रुपैयाँ, गोल्ड फ्लेक चुरोट प्रति खिल्ली ५ रुपैयाँ, खुकुरी चुरोट प्रतिखिल्ली १० रुपैयाँ, सूर्य चुरोट २० देखि २५ रुपैयाँमा बिक्रि भइरहेको छ ।
लामो समयदेखिको बन्दाबन्दीका कारण बजार अनुगमन हुन नसक्दा बर्दियाका विभिन्न बजारमा कालोबजारी मौलाएको छ ।
बर्दिया उद्योग वाणिज्य संघ राजापुरका अध्यक्ष कृष्णकुमार रेग्मी अत्यावश्यक सामाग्रीसँगै सुर्तिजन्य वस्तुहरु तोकिएको दररेटमा मात्रै बिक्रि गर्न पटक पटक सूचना जारी गरेको भए पनि चर्को,मूल्यमा बिक्रि गर्ने क्रम नरोकिएको बताउँछन् । लकडाउनको फाइदा उठाउँदै केही व्यवसायीले आफूखुसी मूल्य कायम गरेर ग्राहकसँग पैसा असुल्ने गरेका उनको भनाइ छ ।
लकडाउनको समयमा अत्यावश्यक खाद्यान्न समाग्रीहरु मात्रै आयात गर्न मिल्ने तर सुर्तिजन्य वस्तुहरुलाई भने अन्यत्रबाट ल्याउन अनुमति नरहेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ । यी वस्तुहरु बिक्रि वितरण गर्न मिल्ने वा नमिल्ने भन्दा पनि यो विपतको समयमा अत्यावश्यक सामाग्री बाहेक अन्य वस्तुहरु ल्याउन नमिल्ने भएको इलाका प्रशासन कार्यालय राजापुरका नायब सुब्बा धर्मराज खत्रीले बताए ।
बर्दियामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लाका सबै नाकाहरु शील गरेकाले कालाबजारी पनि बढ्दै गएको हो । राजापुर क्षेत्रस्थित व्यापारी मात्रै नभइ केही व्यक्तिहरुले कैलालीबाट सुर्तिजन्य वस्तुहरु ओसार्दै स्थानीय साना पसलहरुमा सप्लाइ गरिरहेको स्रोतले जनाएको छ । लकडाउनका कारणले अन्यत्रबाट कुनै पनि सुर्तिजन्य वस्तुहरु भित्र्याउन नमिलेको अवस्थामा यस क्षेत्रका उपभोक्ताहरुले पनि यस्ता वस्तुहरुको चर्को माग गर्न थालेपछि कालाबजारी बढेको हो ।