नेपालमा कोरोनाबाट १० दिने सुत्केरी महिलाको मृत्यु

सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केरी महिलाको कोरोनाबाट मृत्यु हुने पहिलो घटना भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा राति पुष्टि, शनिबार नै अन्त्येष्टि

नेपालगन्ज : नेपालमा कोरोनाबाट एक जना महिलाको मृृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले शनिबार राति ८ः५० बजे विज्ञप्ती जारी गरी सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिकाकाे राम्चे घर भएकी २९ वर्षीया १० दिने सुत्केरी महिलाको मृत्यु भएको पुष्टि गरेका हुन् । २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएकी उनको २४ गते डेलिभरी भएको र २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकको घरमा गएको विज्ञप्तीमा उल्लेख छ । ‘घर पुगेपछि ज्वरो, स्वासप्रश्वासमा समस्या भएपछि स्थानीय अस्पतालमा उपचार गराइएको र स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि धुलिखेल अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको छ’, विज्ञप्तीमा भनिएको छ, ‘यस सम्बन्धमा थप विस्तृत विवरण लिइएको र कोभिड १९ सँग सम्बन्धित थप परीक्षण पश्चात् नेपालमा कोभिड १९ बाट मृत्यु भएको यो पहिलो घटना भएको पुष्टि भएको छ ।’ मृतकको शव धुलिखेल अस्पतालबाट ल्याएर शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।

शनिबार राति धनुषामा थप दुई जनामा कोरोना पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या दुई सय ८१ पुगेको छ ।