नेपालमा थप १० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

नेपालगन्ज: नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार बिहान थप १० जनामा संक्रमण भएको पुष्टि गरेसँगै संक्रमितको संख्या २ सय ९१ पुगेको हो । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा नेपालको रौतहटका १० जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ पुष्टि भएका १० जना रौतहटको राजपुर नगरपालिका फरहदा–९ निवासी १८, ३२, ३६, ३९, ३९, ४२, ४८ वर्षीय पुरुषहरु रहेका छन् । यस्तै, रौतहटकै इशनाथ नगरपालिका ३ र ५ नम्बर वडाका २८, ३० र ३३ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।