बर्दियामा कोरोना अस्पताल बनाउन माग

बर्दिया उद्योग वाणिज्य संघले बुझायो ज्ञापनपत्र

बर्दिया : कोरोना संक्रमणको जोखिममा रहेको बर्दियामा कोरोना अस्पताल बनाउन माग गर्दै आज प्रदेश ५ का मुख्यमन्त्री समक्ष ज्ञापन पत्र बुझाईएको छ । बर्दिया उद्योग वाणिज्य संघ राजापुरको पहलमा राजापुर क्षेत्रका बुद्धिजिवि, व्यवसायी, समाजसेवी, संचारकर्मी लगायतले कोरोना विशेष अस्पताल बनाउन माग गर्दै प्रदेश साँसद दिपेश थारु मार्फत मुख्यमन्त्री शंकर पोखरेल समक्ष ज्ञापन पत्र बुझाएका हुन ।
कोरोना संक्रमणको उच्च जोखिममा रहेपनी हालसम्म आईशोलेशन वार्ड समेत नहुँदा जिल्लाका बिरामीहरुले सास्ती पाउने भन्दै कोरोना बिशेष अस्पताल बनाउन माग गरिएको हो । संघका अध्यक्ष कृष्णकुमार रेग्मीका अनुसार बर्दियाका संक्रमित बिरामीहरुलाई अन्य जिल्लामा राख्न आनाकानी गर्न थालेपछि महामारी बढ्दै गईरहेको अवस्थामा समस्या हुने भन्दै बर्दियाको राजापुर क्षेत्रमै सुविधासम्पन्न कोरोना विशेष अस्पताल बनाउन पहल थालिएको हो ।

प्रदेश सासद दिपेश चौधरी मार्फत ५ नम्वर प्रदेशका मुख्य मन्त्रीलाई ज्ञापन पत्र बुझाईदै । तस्बिर सौजन्य : अनिलदत्त चौधरी

ज्ञापनपत्रमा राजापुर ५ मा रहेको स्वास्थ्य केन्द्रलाई भेन्टिलेटर सहितको विशेष कोरोना अस्पताल स्थापना गर्न, अस्पतालमा आवश्यक जनशक्ति उपलब्ध गराउन र आवश्यक सामाग्री सहितको आईशोलेसन वार्ड तथा क्वारेन्टाईन बनाउन माग गरिएको छ ।
केहीदिन अघि राजापुर ५ की एक वालिकामा संक्रमण देखिएपछि उनलाई खजुरामा ठाउँ अभाव भएको भन्दै दांगको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा राख्न खोज्दा त्यहाँको स्थानीयतहले राख्न नसकिने भन्दै फर्काएको थियो । सो कार्यको चौतर्फि विरोध भएको थियो । पछिल्लो समय बर्दियामा २ जनामा कोरोना संक्रमण पुष्टि भै सकेपछि संक्रमितलाई राख्ने आईशोलेसन वार्ड समेत नभएको भन्दै जिल्लामै कोरोना अस्पताल बनाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा समेत तिब्र रुपमा आवाज उठन थालेको छ । नेपाल रेडक्रस सोसाईटी ठाकुरबाबा उपशाखाका सभापती यज्ञप्रसाद नेपालले फेसबुकमा लेखेका छन ‘राजापुरकी बालिकाले जस्तै बर्दियाका बिरामीले अन्य जिल्लामा उपचार पाउँने सम्भावना कम रहेकोले बर्दियामै तत्काल कोरोना विशेष अस्पताल निर्माणका लागि सबै राजनीतिक दल र जनप्रतिनिधिको ध्यान जान जरुरी छ ।’

जिल्ला अस्पताल बर्दियाका अध्यक्ष अंगद प्रयास श्रेष्ठ बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै । तस्बिरः बिक्रम कायस्थ

त्यस्तै नेपाल प्रेस युनियन बर्दियाका अध्यक्ष विनय राजभण्डारीले फेसबुक मार्फत बिश्व नै कोरोना महामारीसंग बच्न संर्घष गरीरहेको अवस्थामा बर्दियामा कोरोना अस्पताल र आइशोलेशन वार्ड समेत नुहनु बर्दियाबासीका लागि दुखद कुरा भएको बताएका छन । स्वास्थ्य, शिक्षा क्षेत्रको विकासका लागि यहाँका ठुला नेताहरु र स्थानीय निकायका निर्णायक पदमा बसेकाहरुको मस्तिष्कमा यो कुरा पुग्नुपर्ने उनको भनाई छ ।
त्यस्तै राजापुर क्षेत्रका कानून व्यवसायी महादेव रत्गैयाले समग्र राजापुरको विकासका लागि राजापुर अस्पतालको सुधार हुनुपर्ने बताएका छन । उनले अर्को स्टया्टसमा संक्रमितको संख्या बढ्दै गए सडकमै त्रिपाल टाँगेर राख्ने त होला भन्दै व्यंग गरेका छन ।
बर्दियामा सामान्य बिरामी पर्दा पनी जिल्ला अस्पताल बाहेक भरपर्दो अर्को कुनै अस्पताल नभएका कारण यहाँका बिरामीहरुले उपचारका लागि नेपालगन्ज, कोहोलपुर लगायत धाउनु परेको छ । झन कोरोना महामारीका समयमा उपचारका लागि आईशोलेशन वार्ड समेत नहुँदा बिरामीको अकालमै ज्यान जाने अवस्था आएको छ ।