कोरोना संक्रमित युवाको शव सुरक्षाकर्मीबाट राप्ती नदी किनारमा अन्त्येष्टि

सांकेतिक फोटो

नेपालगन्ज : बाँकेको नरैनापुरमा कोरोनाबाट मृत्यु भएका युवाको शव सुरक्षाकर्मीले अन्तिम संस्कार गरेका छन् ।
परिवारका सदस्य, नातेदार र आफन्त कोही पनि अन्त्येष्टिमा नआएपछि सुरक्षाकर्मीले आइतबार राति नौ बजेतिर राप्ती नदी किनारमा लगेर शव गाडेका हुन् । डोजरको अघिल्लो भागमा शव राखेर नदी किनारमा गाडेको एक सुरक्षा अधिकारीले बताए । शवलाई अन्तिम संस्कार गर्दा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली खटेको थियो ।
नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्राविकको क्वारेन्टाइनमा आइतबार बिहान ६ः४० बजेतिर नयाँ वस्तीका २५ वर्षका युवाको मृत्यु भएको थियो । शनिबार कोरोना परीक्षणका लागि उनको स्वाब संकलन गरिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवा चार बजेतिर मात्र रिपोर्ट पोजेटिभ आएको पुष्टि गरेको थियो । (कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी कार्यविधिसँग बाझिने गरी यसअघि समाचारमा केही कुरा उल्लेख भएकाले सच्चाइएको छ । -सम्पादक)