क्वारेन्टाइन जेल जस्ता छन् : कुरुम्वाङ प्रजिअ, बाँके

आरटीडी र पीसीआर दुबैमा कोरोना रिपोर्ट पोजेटिभ भएका ब्यक्तिलाई क्वारेन्टाइनको एउटै कोठामा राखेको पाइयो
नरैनापुरमा प्रदेशसभा सदस्य नमूना, नरैनापुर गाउँपालिका अध्यक्ष इतियाक अहमद शाहसँगै बीचमा प्रजिअ कुरुङ्वाङ । फोटो : सौजन्य नविन गिरी

नेपालगन्ज : बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जिल्लाका क्वारेन्टाइनलाई जेलको संज्ञा दिएका छन् ।

पत्रकार प्रियास्मृतिसँग कुरा गर्दै प्रजिअ कुरुङ्वाङ

नरैनापुर र डुडुवा क्षेत्रका क्वारेन्टाइनको अनुगमनपछि स्वास्थ्य पेजमा पत्रकार प्रियास्मृति ढकालसँग भिडियो संवादमा प्रजिअ कुरुम्वाङले क्वारेन्टाइन मापदण्ड अनुसार नभएको बताए । उनले भनेका छन्, ‘यहाँ समस्या के रहेछ भने क्वारेन्टाइन मापदण्ड अनुसार छैन । त्यो जेल जस्तो छ ।’
उनले डुडुवा गाउँपालिकाकोे क्वारेन्टाइन अवलोकनको क्रममा आरटीडी र पीसीआर दुबैमा कोरोना रिपोर्ट पोजेटिभ भएका ब्यक्तिलाई एउटै कोठामा राखेको पाइएको बताए । उनले यस्तोे गर्नुलाई ठूलो गल्ती भनेका छन् । क्वारेन्टाइनमा खाने बस्ने व्यवस्थापन पनि राम्रो नभएको उनको भनाइ छ । स्थानीय तहले अधिकार अनुसारको सरकारको अनुभूति हुने गरी काम गर्न नसकेको उनको गुनासो छ ।

डुडुवा गाउँपालिकाको क्वारेन्टाइन अवलोकन गर्दै प्रजिअ कुरुङ्वाङ (बीचमा फोन गर्दै) । फोटो : नरेश श्रेष्ठको फेसबुकबाट

छिमेकी जिल्लामा निषेधाज्ञा घोषणा गरेर प्रभावकारी भएकाले बाँकेमा पनि घोषणा गरिएको उनले प्रष्ट पारेका छन् । गृह मन्त्रालयबाट १२ जेठमा स्याङजाबाट सरुवा भइ बाँकेमा कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका कुरुम्वाङले कार्यभार सम्हालेकै दिन जिल्लाभरी निषेधाज्ञा घोषणा गरेको सूचना प्रकाशित गरेका थिए ।