नरैनापुरका संक्रमितको स्वास्थ्य अवस्था सामान्य

फोटो सौजन्य : नविन गिरी

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले आइतबार खजुरास्थित कृषि व्यवसाय प्रवर्द्धन तथा तालिम केन्द्रको छात्रावासमा रहेको आइसोलेसनमा बसेका गाउँपालिकाका संक्रमितहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
आइसोलेसनमा खटिएका जनस्वास्थ्य निरीक्षक नरेशकुमार खत्रीले सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका थिए ।
गाउँपालिकाका अध्यक्ष शाहले उनीहरुको हौसला र आत्मविश्वास बढाउन आफू त्यहाँ पुगेको बताएका छन् । संक्रमितहरुलाई दुरी कायम गरेर बस्न, खानपिन र सरसफाईमा ध्यान दिन आग्रह गरेका थिए । आइसोलेसनमा नरैनापुरका ३९ जनालाई राखिएको छ । नरैनापुरका संक्रमितहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, लायन्स डेण्टल अस्पताल, पिपिरीस्थित कृषि विकास बैंकको तालिम केन्द्र र दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा राखिएको छ । नरैनापुरमा एक सय १६ जनामा संक्रमण पुष्टि भएको छ । एक जनाको मृत्यु भएको छ भने ३ जना निको भएर घर फर्केका छन् ।