कैलालीका ७ स्थानीय तहको टीकापुरमा साझा ३० शैयाको कोरोना अस्पताल

टीकापुरमा निर्माणाधीन कोरोना अस्पताल । फोटो : मानबहादुर ठकुल्ला

मानबहादुर ठकुल्ला । टीकापुर

कैलालीका सात स्थानीय तह मिलेर टीकापुरमा ३० शैयाको अस्थायी कोरोना अस्पताल बनाइरहेका छन् ।

टीकापुर, लम्की चुहा, भजन, नगरपालिका र घोडाघोडी नगरपालिकाका साथै जानकी, जोशिपुर र बर्दगोरिया गाउँपालिकाले संयुक्त रुपमा टीकापुर सिटी हलमा सञ्चालन गर्न लागेको अस्थायी कोरोना अस्पतालमा बिजुली जोडने, पर्दा लगाउने र बेडहरुको व्यवस्थापनको काम भइसकेको छ । बाँकी काम चाडै सम्पन्न गरेर अर्को सातादेखि सञ्चालनमा ल्याउने गरी काम भइरहेको टीकापुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.जितेन्द्र कँडेलले जानकारी दिए ।
‘काम तिब्ररुपमा भइरहेको छ । शैया व्यवस्थापनको काम सकिएको छ’, उनले भने,‘संक्रमित थपिंदै गएका छन्, हामी अर्को सातादेखि अस्पताल सञ्चालन गर्ने तयारीमा छौँ ।’
अस्थायी कोरोना अस्पतालमा चिकित्सक टीकापुर अस्पतालकै खट्नेछन् भने बाँकी अन्य स्वास्थ्यकर्मी कैलालीका पूर्वी क्षेत्रका सात स्थानीय तहले १५÷१५ दिन पालैपालो खटाउने सहमति भएको छ । डाक्टर कँडेल प्रष्ट पार्दै भने,‘स्वास्थ्यकर्मी बस्ने क्वार्टर पनि तयार हुँदैछ । उनीहरु १५ दिन त्यही बसेर सेवा दिनेछन्, त्यसपछि अर्को पालिकाको पालो आउनेछ । यसरी गर्दा सजह पनि हुनेछ ।’
सात स्थानीय तहले कोरोना अस्पताल सुरु गर्ने निर्णय गरेपछि काम थालिएको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावलले बताए । ‘यस्तो विपत्तिमा धेरै स्थानीय सरकार मिलेर विपत्तीको सामना गर्ने तयारी गरेका हौँ’, नगर प्रमुख रावलले भने, ‘‘लाग्ने खर्च पनि सात स्थानीय तह मिलेर ब्यहोर्ने सहमति भएको छ ।’ भारतमा रहेका नेपाली घर फर्कन थालेपछि कैलालीमा संक्रमित बढ्न थालेका छन् ।