बाँकेको जानकीमा पहिलो पटकमै ४० संक्रमित फेला

कोहलपुरबाहेक जिल्लाका सात स्थानीय तहमा कोरोना संक्रमण, जिल्लाभरी संक्रमितको संख्या २५५

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिकामा एकैदिन पहिलो पटक ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले बाँकेको जानकी गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकामा ४२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार जानकी गाउँपालिकाका ४० र नेपालगन्जका २ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीका अनुसार संक्रमितहरु सबै वडा नं. १ को साइगाउँ, बढैया र शिवपुरीको क्वारेन्टाइनका हुन् । केही दिनअघि ती क्वारेन्टाइनबाट एक सय १३ जनाको स्वाब संकलन गरिएको थियो । बाँके जिल्लामा नरैनापुरमा एक सय १८, नेपालगन्ज उपमहानगरपालिकामा ३३, राप्ती सोनारीमा २६, डुडुवामा २५, बैैजनाथमा ८ र खजुरामा ५ मा कोरोना संक्रमित छन् । जानकीको समेत गरी बाँके जिल्लामा कोरोना संक्रमितको संख्या दुई सय ५५ पुगेको पुगेको छ । कोहलपुर नगरपालिकाबाहेक सबै स्थानीय तहमा कोरोना संक्रमित फेला परेका छन् । कोहलपुरमा अहिलेसम्म पीसीआर प्रविधिबाट एक सय १५ जनाको कोरोना परीक्षण भइसकेको छ ।