छोराको जन्मदिनमा डा. शाहद्वारा विपन्न तथा असहायलाई सहयोग


नेपालगन्ज : एचसीआरसी अस्पताल नेपालगन्ज तथा कप्तान कृषि फर्मका अध्यक्ष डा.कुमारशान शाहले आफ्ना छोराको जन्मदिनका अवसरमा विपन्न तथा असहायलाई सहयोग गरेका छन् । छोरा शोर्णजङ्ग शाहको पाँचौ जन्मदिनको अवसरमा डा.शाहले नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सहायता केन्द्र नेपालगन्जमा रहेका बालबालिका तथा विपन्न नागरिकहरुका लागि खाजा तथा खाद्यान्न सहयोग गरेका हुन् । सहयोग हस्तान्त्रण गर्दै डा. शाहले नीलसागर परिवारले साहाराविहीनको सहारा बनेर गरेको मानवीय कार्यको प्रशंसा गर्दै आफूले सहयोग गरेको बताए । उनले अस्पतालका तर्फबाट नीलसागरमा रहेका महिलाहरुलाई निरन्तर रुपमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने बताए ।
डा.शाह प्रत्येक वर्ष जेठ २२ गते परिवारको सबैभन्दा खुसीको दिनको रुपमा छोराको जन्मदिन मनाउन नीलसागर जान्छन्। अभिभावकबाट सिकेको संस्कार छोरामा पनि कायम होस भनेर निरन्तर रुपमा विपन्न, असहाय तथा अशक्तलाई मानवीय भावनाले सहयोग गरिरहेको डा.शाहको भनाइ छ ।

त्यसैगरी शाहले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० गायत्रीगर नयाँवस्तीका सुकुम्वासी अति विपन्न दलित तथा पूर्ण शारीरिक अपाङ्गता भएका ३ जनालाई आवास निर्माणको लागि ७५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । वडा नम्बर २० का वडा अध्यक्ष कृष्ण कार्कीको अनुरोधमा अति विपन्न परिवार, दलित तथा पूर्ण रुपमा शारीरिक अपाङ्गता रहेका गलसाकुमारी कामी, मानकुमारी नेपाली र रामशीला कामीलाई आवास निमार्णमा सो रकम हस्तान्त्रण गरेका हुन् । डा. शाहको सहयोगले स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा काम भएको भन्दै वडाअध्यक्ष कृष्ण कार्कीले खुसी व्यक्त गरे । शाहले यसअघि वैशाख महिनामासमेत उक्त वडाका गरिव तथा दैनिक मजदुरी गर्ने व्यक्तिहरुलाई १ लाख रुपैयाँ बराबरको खाद्यान्न प्याकेज वितरण गरेका थिए । प्रदेशसभा सदस्य कृष्णा केसी नमूनाको नेतृत्वमा रहेको कोभिड १९ रिलिफ फण्डमा समेत ५० हजार रकम सहयोग गरेका थिए ।