गृहको आदेशमा पसल खोल्ने निर्णयमा पछि हट्यो बाँके प्रशासन

नेपालगन्ज : जिल्ला प्रशासन कार्यालय बाँके बार अनुसार पसल खोल्ने पूर्ववत् निर्णयमा पछाडि हटेको छ ।
प्रदेश ५ का मुख्यमन्त्रीले फेसबुक स्टाटस लेखेर पसल खोल्ने निर्णयको विरोध जनाएका थिए । गृह मन्त्रालयले नै पसल बन्द गर्न आदेश दिएपछि भने प्रशासनले शुक्रबार अर्को सूचना प्रकाशित गरेर २२ र २३ जेठको बजार र पसल व्यवसायमा सर्वसाधारणको उपस्थिति र स्वास्थ्य सुरक्षा सम्बन्धी प्रोटोकल पालनाको अवस्था हेर्दा कोभिड १९ संक्रमणको जोखिम बढ्न सक्ने अवस्था देखिएको २१ गतेको सूचना रद्द गरिएको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायद्वारा हस्ताक्षरित सूचनामा दैनिक बिहान ११ बजेदेखि ३ बजेसम्म अत्यावश्यक वस्तुको पसल खोल्ने पूर्ववत् निर्णय अनुसार हुने बताएको छ । नेपालगन्ज उद्योग वाणिज्य संघको माग बमोजिम सर्वदलीय र सर्वपक्षीय बैठकको निर्णय अनुसार प्रशासनले दुई दिनदेखि बार अनुसार खोल्ने व्यवस्था गरेको थियो । जस अनुरुप आइतबार र बुधबार मोबाइल र इलेक्ट्रोनिक्स, स्टेशनरी, पुस्तक पसल, फोटो स्टुडियो, छापाखाना, फर्निचर, फर्निसिङ र भाँडा पसल खुल्नेछन् । सोमबार र बिहीबार कपडा, फेन्सी, जुत्ता चप्पल, कस्मेटिक्स, चस्मा र गरगहना पसल, मंगलबार र शुक्रबार अटोमोबाइल्स, कोल्ड स्टोर, जुस, मोटरसाइकल, साइकल पसल र अन्य पसल खुल्नेछन् । हप्तामा सातै दिन भने औषधि, दैनिक उपभोग्य वस्तु, निर्माण सामग्री, मलखाद र बिउबिजनका पसल खोल्ने निर्णय भएको छ । जिल्ला प्रशासनको यो निर्णयको भने संघले स्वागत गर्दै कार्यान्वयनका लागि सहजीकरण गर्ने जनाएको छ ।