निको भएका संक्रमितको अनुभव, ‘सामाजिक दूरी पालना गरे कोरोना जित्न सकिन्छ’

मानबहादुर ठकुल्ला । टीकापुर
टीकापुर अस्पतालमा शुक्रबार अरु दिनभन्दा बेग्लै माहोल थियो । कोरोना संक्रमितको सेवामा दिनरात खटिएका स्वास्थ्यकर्मी आफन्तलाई विदाइ गर्दाको क्षणमा झैं भावुक देखिन्थे । के डाक्टर, के नर्स सबैले कोरोना संक्रमण निको भएर जानेलाई पुष्प गुच्छाले विदाइ गरेका थिए । यो विदाइ उनीहरुको सम्मानका खातिर मात्र थिएन, आत्मबल बढाउन थियो । कोरोना निको हुन्छ भन्ने सन्देश दिन पनि थियो ।
हुन त संक्रमितले एक्लै कोरोना जितेका थिएनन् । तिनै स्वास्थ्यकर्मीको अथक मेहनत, लगाव र सेवाले पनि जितेको थियो । विश्व महामारी कोरोना जित्नेहरु जहाँ पनि युद्ध जितेको सिपाही जस्तो हुन्छन् तर यहाँ भने त्यस्तो उन्माद थिएन । बरु कोरोनालाई जितेर घर फर्कनेहरु समाजप्रति चिन्तित देखिए । उनीहरु कोरोनाका कारण आफूले भोगेको शारीरिक र मानसिक सास्ती समाजमा कसैले भोग्न नपरोस् भन्न हृदयदेखि नै आग्रह गरिरहेका थिए । अस्पताल परिसरबाट निस्कँदै गर्दा उनीहरुले सामाजिक दूरीले नै कोरोनालाई परास्त गर्न सकिने भन्दै सबैलाई सचेत रहन आग्रह गरे । ‘लापरवाही नगरौं । सबै सचेत रहौं’, उनीहरुको आग्रह थियो, ‘कोरोनालाई जित्न सकिन्छ ।’
कैलालीको टीकापुरस्थित अस्पतालको आइसोलेसनबाट पाँच जना कोरोनालाई जितेर शुक्रवार दिउँसो डिस्चार्ज भएका थिए । टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपक रावलका अनुसार उनीहरू सबै जानकी गाउँपालिका १ दुर्गौलीको सरस्वती माध्यमिक विद्यालयको क्वारेन्टाइनका हुन् । डिस्चार्ज भएकासहित कैलालीमा कोरोना निको हुनेको संख्या ९ पुगेको छ। १७ र २१ जेठमा लगातार दुई पटकको स्वाब परीक्षण गर्दा कोरोना रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले बताए ।
टीकापुर अस्पतालमा अहिले १ गर्भवतीसहित ६ जना कोरोना संक्रमित उपचाररत छन् । उनीहरुमध्ये ४ जना टीकापुर नगरपालिका र २ जानकी गाउँपालिकाका छन् । टीकापुर नगरपालिकाका ४ मध्ये ३ एकै परिवारका हुन । उनीहरु सबै भारतबाट घर फर्किएका हुन् ।