बर्दियाको ठाकुरबाबा र बारबर्दियामा पनि कोरोना विस्तार, जिल्लामा संक्रमितको कूल संख्या ५८
गुलरिया : बर्दिया जिल्लाको ठाकुरबाबा र बारबर्दिया नगरपालिकामा पनि कोरोना विस्तार भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका कोरोना फोकल पर्सन कृष्णगोपाल चौधरीका अनुसार भेरी अस्पताल नेपालगन्जमा सोमबार गरिएको परीक्षणमा एकै दिन चार वटा नगरपालिकामा १८ जनामा कोरोना पुष्टि भएको हो । जसमा ठाकुरबाबा ३ का दुई (वर्ष ३५ र ४० पुरुष) र वडा नं. ४ मा १९ वर्षका पुरुषमा कोरोना पुष्टि भएको हो । ठाकुरबाबाका तीन जनाको कोरोना परीक्षण गर्दा सबैमा कोरोना देखिएको फोकल पर्सन चौधरीले प्रष्ट पारे । ठाकुरबाबाका संक्रमितलाई शिवपुरस्थित आइसोलेसनमा राखिनेछ ।
त्यसैगरी बर्दियाकै बारबर्दिया नगरपालिका ७ मा ३४ वर्षका पुरुष र ३३ महिलामा पनि कोरोना संक्रमण भएको नगर प्रमुख दुर्गाबहादुर थारु बताउँछन् । बारबर्दियाबाट १२ जनाको स्वाब संकलन गरिएको थियो । बारबर्दियाका संक्रमितलाई जयनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिनेछ ।
त्यसैगरी मधुवनमा ७ जनाको कोरोना परीक्षण गर्दा ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ । वडा नं. ४ का तीन जना र वडा नं. ७ का एक जना छन् । जसमध्ये ४ वर्षका बालकसहित दुई महिला पनि छन् । मधुवनका संक्रमितलाई गुलरियास्थित जिल्ला समन्वय समितिको आइसोलेसनमा राखिने भएको छ ।
बाँसगढी नगरपालिकामा १४ जनाको कोरोना परीक्षण गर्दा ९ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरु वडा नं. २ का ४ जना, वडा नं. ६ का २ जना, वडा नं. ५, ७ र ९ का एक एक जना रहेका छन् । बाँसगढीका सबै संक्रमितलाई बाँसगढीकै आइसोलेसनमा राखिनेछ ।
सोमबारसम्म बर्दिया जिल्लामा कोरोना संक्रमितको संख्या ५८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ । पहिलो पटक राजापुर नगरपालिकामा ११ वर्षीया बालिकामा कोरोना संक्रमण भएको बर्दियामा गुलरिया, बाँसगढी, मधुवन, ठाकुरबाबा, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा कोरोना संक्रमण भइसकेको छ । बर्दिया गेरुवा गाउँपालिकामा भने अहिलेसम्म कोरोना संक्रमण भएको छैन ।