न्याय नपाएको भन्दै पसलमा आगजनी

राजापुर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लार्यसमा आगजनी

बिष्णु अधिकारी । राजापुर
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ६ मानपुर टपरास्थित न्यू वर्षा सप्लार्यसमा आगजनी गरिएको छ ।
३० वैशाखमा राजापुर १० मा भएको गाडी दुर्घटनाको विषयलाई लिएर पीडितले न्याय नपाएको भन्दै स्थानीयले पसलका सामान बाहिर निकालेर सप्लार्यसमा आगजनी गरेको राजापुर ६ का वडा अध्यक्ष महेश चौधरीले बताए । दुर्घटनामा ज्यान गुमाएका परिवारले न्याय नपाएको भन्दै आक्रोसित स्थानीयले सोमबार दिउँसो पसलमा आगजनी गरेका थिए । स्थानीय प्रहरी प्रशासनले पीडितलाई सहमतिमा नल्याएर एकलौटी निर्णय गर्दै गाडी चालक वर्षा सप्लायर्सका प्रोप्राइटर हिमाल गौतमलाई धरौटीका भरमा २२ दिनमै छाडिएको कारण आगजनी गरिएको स्थानीयले बताए । उनीहरुले पीडितलाई न्याय दिई आवश्यक क्षतिपूति उपलब्ध गराउन माग गरेका छन् ।
३० वैशाखको राति ८ बजे भे १ च ३४३१ नम्बरको जीप र से ५ च ४३३२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक राजापुर नगरपालिका वडा नम्बर ६ महादेउलीका ३८ वर्षका सोमनाथ थारुको उपचारको लागि लैजाँदा गर्दा बाटोमै ज्यान गएको थियो ।