राजापुरमा चैते धान काट्न भ्याइनभ्याइ

मुरली गोडिया । गुलरिया
वर्षा लाग्यो, देशैभरका किसान धान रोप्न व्यस्त हुन थालेका छन तर अन्नको भण्डार भौराटप्पाका किसान भने धान काट्न व्यस्त छन् ।
बर्दिया जिल्लाको कर्णाली नदी पारीको क्षेत्र भौराटप्पा (राजापुर नगरपालिका र गेरुवा गाउँपालिका) का किसानहरुलाई यो समयमा चैते धान भित्राउन भ्याइनभ्याई छ । दुई बाली हुने यस क्षेत्रका किसानहरु धान रोपाइसँगै चैत धान भित्र्याउन व्यस्त भएको किसान अमर थारु बताउँछन् ।
यस क्षेत्रका किसान वर्षे र हिउँदे दुबै धानबाली लगाउँछन । चैतमा लगाएको धान यति बेला काट्ने र फेरी सोही खेतमा वर्षे धान लगाउने गरेको थारुले बताए । पानीको सहज पहुँच भएको र खल्ला क्षेत्र भएकाले चाँडै पानी भरिने हुनाले पनि २ पटक धानखेती हुन्छ । कर्णाली नदीले घेरिएको टापुमा धान उत्पादन मनग्य हुन्छ ।
किसानले रोपाइँ गर्ने समयमा पनि मलको अभाव हुँदा भएको किसानको गुनासो छ । किसानका समस्या समयमै समाधान गर्न सके धेरै युवाहरु विदेश पलायन हुनबाट रोक्न सकिन्छ । देश विकासका निम्ती युवाहरुको श्रमलाई देशकै कृषि पेशामा लगाउन सके सरकारले भन्दै आएको सुखी नेपाली, समृद्ध नेपालका सपना साकार हुने किसानहरुको विश्वास छ ।