भारत, पाकिस्तान र बंगलादेशमा चीनभन्दा धेरै कोरोना संक्रमित

नेपालगन्ज : कोरोना भाइरसको उद्गम थलो चीनलाई संक्रमितमा दक्षिण एशियाका तीन देशले उछिनेका छन् ।
कोरोना महामारीको विश्वव्यापी तथ्यांक अपडेट गर्ने वेभसाइट वल्डोमिटर्स डट इन्फोको बुधबार दिउँसो १ बजेसम्मको रेकर्ड अनुसार विश्वमा धेरै कोरोना संक्रमित हुने देशको सूचीमा भारत चौथो नम्बरमा छ । भारतमा चार लाख ५६ हजार पाँच सय ५२ संक्रमित छन् भने १४ हजार चार सय ८३ जनाको मृत्यु भएको छ । जबकी चीनमा कोरोना संक्रमितको संख्या ८३ हजार चार सय ३० छ । कोरोनाबाट चार हजार ६ सय ३४ को ज्यान गएको छ । चीनभन्दा भारतमा मृतक तेब्बर भन्दा बढी छन् भने संक्रमित झन्डै पाँच गुणाले बढी हो । दक्षिण एशियाका पाकिस्तान र बंगलादेशमा पनि चीनभन्दा बढी संक्रमित छन् । पाकिस्तानमा एक लाख ८९ हजार संक्रमित छन् भने मृतक तीन हजार सात सय ५५ छन् । त्यस्तै बंगलादेशमा एक लाख १९ हजार संक्रमित र एक हजार पाँच सय ४५ जनाको मृत्यु भएको छ । विश्वका धेरै कोरोना संक्रमित हुने देशको सूचीमा पाकिस्तान १४ र बंगलादेश १७ औं स्थानमा छ । जबकी चीन २१औं स्थानमा छ ।