८२ वर्षे वृद्ध कोरोना जितेर घर फर्के !

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पत्रकार सम्मेलनपछि कोभिड उपचारबारे जानकारी दिँदै चिकित्सक । फोटो : मेरो खुसी

कोहलपुर : लेभल-३ कोभिड हस्पिटल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट जटिल समस्या भएर उपचार गर्न आएका ८२ वर्षका वृद्ध शल्यक्रिया बिना नै कोरोना जितेर घर फर्केका छन् ।
अस्पतालका कोरोना फोकल पर्सन डा.दिनेश श्रेष्ठका अनुसार रुकुम सानोभेरी नगरपालिका १ का ८२ वर्षका वृद्ध आन्द्रा गुजुल्टेका कारण पेट दुख्ने समस्या लिएर २२ जेठमा अस्पताल भर्ना भएका थिए । ‘सुरुमा अप्रेशन गर्ने भनेका थियौं । औषधि सेवनबाट नै उहाँको रोग निको भयो ।’ उनको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार घर फर्केका थिए ।
त्यसैगरी लेभल ३ कोभिड हस्पिटलमा जटिल स्वास्थ्य समस्या भएर भर्ना भएकामध्ये दुई जना महिलाको सफल शल्यक्रिया गरिएको अस्पतालका सहायक निर्देशक डा.नितेशकुमार कनोडियाले शुक्रबार शिक्षण अस्पताल कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार अछाम चौरपाटी ५ की २५ वर्षकी गर्भवती महिलाको ठूलो आन्द्राको र कपिलवस्तुको कृष्णनगरकी २७ वर्षीया महिलाको सफल शल्यक्रिया गरिएको थियो । उनीहरु दुबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुकी महिला शनिबार डिस्चार्ज हुँदैछन् । कोरोना संक्रमित भएर जटिल स्वास्थ्य समस्या भएका ५ जनाको अस्पतालले उपचार गरेको मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनोडियाले बताए । उनले भने, ‘दुई जना महिलाको शल्यक्रिया बहुविशेषज्ञ चिकित्सकबाट गरेका थियौंं । उपचारमा संलग्न चिकित्सकलगायत एक सय ३६ को कोरोना रिपोर्ट पनि नेगेटिभ आएको छ ।’ उपचारमा आएकामध्ये बाँकेको बैजनाथ ६ की ४६ वर्षकी महिला र कैलालीको लम्कीचुहा नगरपालिका २ की महिलाको भने उपचारको क्रममा निधन भएको थियो ।