बर्दियामा पनि आफ्नै कोरोना प्रयोगशाला !

जिल्लाका ८ स्थानीय तहको संयुक्त लगानीमा १५ दिनभित्र प्रयोगशाला स्थापना गरी सन्चालन गर्ने तयारी

गुलरिया : बर्दियामा कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला स्थापना गर्ने तयारी थालिएको छ ।
कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि जिल्लाका ८ वटै स्थानीय सरकारले संयुक्त लगानीमा पीसीआर प्रयोगशाला स्थापना गर्न लागेका हुन् । यो अभियानमा सांसदहरुले पनि सघाउने भएका छन् । जिल्ला संकट व्यवस्थापन केन्द्र र जिल्ला विपदु व्यवस्थापन समितिको शुक्रबार सम्पन्न बैठकमा १५ दिनभित्र कोरोना प्रयोगशाला स्थापना गरी सन्चालन गर्ने निर्णय भएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीका अनुसार प्रयोगशाला सन्चालनका लागि गुलरिया नगरपालिकाले ४० लाख र जिल्लाका अन्य सबै स्थानीय तहले २०/२० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । उनले भने, ‘प्रदेश र संघीय सरकारलाई ल्याब सन्चालनमा सहयोग गर्न अनुरोध गर्ने निर्णय भएको छ ।’बैठकमा सांसदको पूर्वाधार विकास कोषको रकमसमेत प्रयोगशाला स्थापनामा सहयोग गर्न सांसदहरु तयार भएका छन् । सहयोग जुट्दै गएपछि तत्काल प्रयोगशाला स्थापना गरेर सन्चालन गर्न करिव तीन करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रजिअ अधिकारीले बताए ।
बैठकमा कोभिड–१९ पीसीआर प्रयोगशाला स्थापना र सन्चालन गर्ने सम्बन्धमा बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुभास पाण्डेले आधारपत्र प्रस्तुत गरेका थिए । आधारपत्रमा पीसीआर प्रयोगशाला सन्चालन, व्यवस्थापन, लागत अनुमानसहित आवश्यक कुराहरुको प्रबन्ध गर्ने विषय समेटिएको थियो । जिल्लामै कोरोना प्रयोगशाला सन्चालन हुने भएपछि कोरोना जाँचका लागि अन्यत्र नमूना पठाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ भने नतिजा पनि तत्काल आउनेछ ।