बाँकेमा २५ शैयाको आयुर्वेद अस्पताल बन्ने

नेपालगन्ज : बाँकेमा आगामि आर्थिक बर्ष २०७७/०७८ मा २५ शैयाको आयुर्वेद अस्पताल बन्ने भएको छ । प्रदेश नम्वर ५ को सामाजिक विकास मन्त्रालय अन्तगर्त जिल्ला स्वास्थ्य केन्द्रलाई कम्तिमा २५ शैयायुक्त आयुर्वेद अस्पतालका रूपमा स्तरोन्नती गरी सम्पुर्ण सेवाहरू सुचारु गरिने भएको हो । शैया निर्माणपछि अस्पतालमा पञ्चकर्म, क्षारसुत्र, तथा अन्य थेरापीहरूसहित होमियोपेथी, प्राकृतिक चिकित्सा, अक्कुपञ्चर, योगको ब्यवस्थापन गर्ने कार्यक्रम रहेको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
आज जिल्लाको खजुरा गाउँपालिकामा आयोजित आयुर्वेद स्वास्थ्य सेवा सम्वन्धी अभिमुखिकरण कार्यक्रममा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अनिलकुमार चौधरीले प्रदेश नम्वर ५ को सामाजिक विकास मन्त्रालयले अस्पताल स्तरोन्नतीका लागि ५० लाख रुपैया बजेट बिनियोजन गरेको बताए । प्रदेश नम्वर ५ मा ३ वटा अस्पताल स्तरोन्नती हुन लागेको बताउँदै यसले जिल्लाको आयुर्वेद सम्वन्धी उपचारमा सहज हुने उनको भनाई छ ।
त्यस्तै यो बर्ष जिल्लाका सवै औषधालयमा पञ्चकर्म सेवाको ब्यवस्थापन गर्नुका साथै आयुर्वेद स्वास्थ्य संस्था नभएका स्थानिय तहहरूमा आपसमा समन्वय गरी आयुर्वेद सेवा कार्यक्रम सञ्चालन गरीने प्रमुख चौधरीले बताए । आयुर्वेदमा प्रयोग गरिने औषधीका लागि यस बर्ष स्थानिय निकायहरूसंग समन्वयगरी कृषक तथा सामुदायीक बन उपभोक्ता मार्फत जडिबुटिको उत्पादन तथा बजारिकरण गर्ने कार्यक्रम समेत रहेको उनले जानकारी दिए ।
कार्यक्रममा खजुरा गाउँपालिकाकी उप प्रमुख एकमाया वि.क.ले यतीबेला आफुहरु बजेट निर्माणकै क्रममा रहेकोले आयुर्वेद सम्वन्धी क्षेत्रमा बजेट विनियोजन गर्ने बताईन । त्यस्तै प्रमुख प्रशासकिय अधिकृत बमबहादुर के.सी.ले गाउँपालिकाले प्राकृतिक चिकित्सा विधिलाई अवलम्बन गर्दे अघि बढने नीति लिएकोले त्यसको कार्यान्वयनका लागि प्रतिवद्धता व्यक्त गरेका थिए ।