कोरोनाको खर्च रकम पारदर्शी गर्न माग

नेपालगन्ज : कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणका लागि स्थानीय सरकारले गरेको खर्च पारदर्शी गर्न एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।
बास र एकाउण्टबिलिटी ल्याबको आयोजनामा बुधबार महामारीको समयमा पारदर्शिता बिषयक अनलाइन छलफल कार्यक्रममा सहभागी प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका सुशासनको क्षेत्रमा कार्यरत सहभागीहरुले स्थानीय सरकारले क्वारेन्टाइन, आइसोलेसन व्यवस्थापनका साथै कोरोना नियन्त्रणका लागि विभिन्न कार्यक्रम सन्चालन गर्दा मनमानी रुपमा खर्र्च गरेको आरोप लागेकाले पारदर्शी हुन माग गरेका हुन् ।
बासका कार्यकारी निर्देशक नमस्कार शाहले सहजीकरण गरेको कार्यक्रममा बासका निर्देशक हेमराज भट्टले स्थानीय सरकारको पारदर्शिताका बारेमा बोलेका थिए । प्रदेश ५ का सांसद कृष्णा केसी नमूनाले कोभिड १९ को कहरका कारण लगाइएको लकडाउनबाट ज्याला मजदुरी गरेर गुजारा गर्ने विपन्न वर्गका लागि राहत कोष स्थापना गरी बाँकेका ८ वटै पालिकामार्फत सहयोग गरेको बताएकी थिइन् ।
सुर्खेतका गगन खड्का, डडेलधुराका श्याम जोशी, बाँकेका मन भण्डारी, रुकुमका निशा गिरी लगायतले स्थानीय सरकारको सुशासनका लागि भएका प्रयास र गर्नुपर्ने पहलका बारेमा धारणा राखेका थिए । कार्यक्रममा २० बढिको सहभागिता रहेको थियो ।