जिल्लाभित्र सार्वजनिक यातायात खुला

नेपालगन्ज: सरकारले जिल्लाभित्र सार्वजनिक सवारी साधन चलाउन दिने भएको छ । काठमाण्डौ उपत्याका सहित देशभरी आफ्नो जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको हो ।
सरकारका प्रवक्ता युवराज खतिवडाले बिहिबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारले तोकेको सुरक्षा मापदण्ड पूरा गरेर सार्वजनिक सवारी चलाउन पाइने बताए । लामो दूरीमा चल्ने र काठमाडौं उपत्यकाबाहिर एकबाट अर्को जिल्लामा चल्ने सार्वजनिक सवारीलाई भने चल्न नदिइने उनको थियो ।
जिल्लाभित्र चल्ने सार्वजनिक सवारीमा भौतिक दूरी कायम राखेर मात्रै यात्रुहरु चढाउन पाइनेछ । ती सवारीमा सिट क्षमताको ५० प्रतिशत यात्रु मात्रै राख्न पाइनेछ । यस्तै, सवारी साधानको ढोकामा सेनिटाइजर अनिवार्य गरिएको छ भने मास्क र सेनिटाइजर प्रयोग गर्न भनिएको छ । चालक र सहचालकले अनिवार्यरुपमा मास्क र ग्लोब लगाउनु पर्नेछ । आधामात्रै यात्रु चढाउन पाउने भएपछि सार्वजनिक सवारी संचालकले कायम भाडाभन्दा पचास प्रतिशतसम्म बढी भाडा उठाउन पाउने सरकारले निर्णय गरेको छ ।
प्रवक्ता खतिवडाले जेठ २८ र असार १२ मा गरिएका लकडाउनसम्बन्धि निर्णयहरुमा असार २३ मन्त्रिपरिषद्ले परिपूरक निर्णय गरेको बताए । पुराना निर्णयमा गरिएका केही प्रतिबन्धात्मक निर्णय यसले हटाएको हो । असार २२ का निर्णय राजपत्रको अतिरिक्तांकमा प्रकाशित गरिने उनको भनाई थियो ।