नेपालगन्जका ६ वडामा १ करोड बढीको बजेट (सूचीसहित)

उपमहानगरपालिकाको २३ वटा वडालाई कूल बजेटको १४ प्रतिशत अर्थात २१ करोड रुपियाँ विनियोजन

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले कूल बजेटको १४ प्रतिशत २३ वटा वडालाई विनियोजन गरेको छ । उप–प्रमुख उमा थापा मगरले आगामी आर्थिक वर्ष २०७७/७८ को विनियोजित एक अर्ब ४९ करोड ४२ लाख १७ हजार पाँच सय १० रुपियाँको बजेटमा नगरका २३ वटा वडालाई २१ करोड रुपियाँ विनियोजन गरिएको छ ।
उपमहानगरले सबैलाई ५० प्रतिशत समान, जनसंख्या र राजस्वमा योगदानको तीन वटा सूचकको आधारमा वडाको बजेट सिलिङ तोेकेको प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी वडा नं. १८ ले एक करोड ४३ लाख ९७ रुपैयाँको बजेट पाएको छ भने वडा नं. २३ ले ५४ लाख ३९ हजार रुपैयाँको बजेट पाएको छ । वडा नंं. १८, २०, ४, १, १० र १९ ले एक करोड रुपैयाँभन्दा बढी बजेट पाउने वडा ६ वटा छन् ।
उपमहानगरले एकीकृत सम्पत्ति करमा १५ प्रतिशत कम गरेको छ । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा असार १० गतेदेखि जारी सातौं नगरसभामा बिहिवार उपप्रमुख मगरले एकीकृत सम्पत्ति करमा कटौती गर्ने प्रस्ताव गरेकी थिइन् ।
नगरसभामा नगर प्रमुख डा. राणाले सन्तुलित ढंगले वडामा बजेटको सिलिङ तयार गरिएको जानकारी दिएका छन् । असार ३० गते बस्ने बैठकले वडाबाट आउने योजनासहित बजेट पारित गर्ने भएको छ ।