शिक्षा शाखा प्रमुख रेग्मी उपर करिब साढे ४ करोड गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख मनप्रसाद रेग्मी उपर गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको मुद्दा दायर गरेको छ ।
नेपाल राष्ट्र बैँकबाट प्राप्त हुन आएको उजुरी उपरको अनुसन्धानका क्रममा करिब साढे ४ करोड रुपैया बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको भन्दै अख्तियारले मंगलवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अख्तियारले रेग्मी सार्वजनिक सेवामा प्रवेश गरेको २०५३ कार्तिक २२ देखि २०७६ चैत्र मसान्तसम्मको अवधिलाई जाँच अवधि मानेर अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा रेग्मीले आफू एवं श्रीमती पम्फादेवी पाण्डेय र छोरी सन्ध्या रेग्मीसमेतका नाममा स्रोत नखुलेका सम्पत्तिहरु राखेकोले उनीहरुलाई समेत प्रतिवादी कायम गरी मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइराला बताए ।
नेपाल राष्ट्र बैँक, वित्तीय जानकारी इकाईले गरेको उजुरीमा रेग्मीको नाममा विभिन्न बैंकहरुमा रहेको खातामा कर्जा कारोवारबाहेक जम्मा तथा खर्च रकम १२ करोड ८० लाख भन्दा बढी देखिएको छ । उक्त उजुरी उपरको अनुसन्धानको क्रममा निजको बैकिङ्ग कारोवार एवं सिर्जित चलअचल सम्पत्ति तथा लगानी खर्चहरुका सम्बन्ध संकलित प्रमाणका कागजातहरूका आधारमा अख्तियारले अनुसन्धान गरेको प्रवक्ता कोइरालाको भनाइ छ ।
अनुसन्धानमा लिएको जाँच अवधिमा सम्पत्ति सिर्जना तथा लगानी गर्नमा रेग्मीले ७ करोड ३१ लाख ४५ हजार २९० रुपैयाँ खर्च तथा लगानी गरेको देखिन्छ भने २ करोड ७७ लाख ११ हजार ५९२ रुपैयाँ मात्र आयआर्जन गरेको अख्तियारले जनाएको छ । बाँकी आयभन्दा बढी खर्च गरेको रकमहरु बराबरको सम्पत्तिको स्रोत खुल्न नआएबाट निजको वैध आयको तुलनामा चार करोड चौवन्न लाख तेत्तिस हजार छ सय अन्ठानब्बे बराबरको सम्पत्ति गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि हुन आएको अख्तियारको ठहर छ ।
गैरकानूनी सम्पत्ति आर्जन सम्वन्धमा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनार्थ विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाको भनाइ छ ।