यसरी स-यो बाँके कारागारका बन्दीमा कोरोना…

File Photo

नेपालगन्ज : बाँके जिल्ला कारागारका एक/एक जना बन्दी र प्रहरीमा कोरोना भएको छ ।

जेलर देवेन्द्र श्रेष्ठका अनुसार चोरी मुद्दामा धरौटी बुझाउन नसकेपछि पुर्पक्षका लागि थुनामा रहेका नेपालगन्ज उपमहानगरपालिका–६ का २८ वर्षिय युवा र कारागार सुरक्षामा रहेका एक प्रहरीमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी राखिएको कारागारमा एक जनामा कोरोना भए एकैपटक धेरै जनामा सर्ने खतरा हुन्छ । जेलर श्रेष्ठका अनुसार २२ असारमा बन्दी बिरामी भएर भेरी अस्पतालमा भर्ना भएका थिए । उनलाई २४ गतेसम्म अस्पतालमा भर्ना गरेर उपचार गरिएको थियो । ‘कारागारभित्रै कोरोना सरेको होइन । अस्पतालमा उपचार गर्न जाँदा सरेको हो’, जेलर श्रेष्ठले दाबी गरे । अस्पतालमा सुरक्षामा रहेका नेपाल प्रहरीका जवानलाई पनि कोरोना भयो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बन्दीलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो । भेरी अस्पतालमा ६ वेडको आइसोलेसन छ । जहाँ सुर्खेतका अर्का व्यक्ति पनि बसेका थिए । ‘सुर्खेतका व्यक्तिसँग हेलमेल भएपछि कोरोना सरेको हो । दुबै जनामा कोरोना पोजेटिभ आएको छ । सुरक्षामा बसेका प्रहरीलाई पनि कोरोना भएको छ’, श्रेष्ठले प्रष्ट पारे । नेपालगन्ज ६ का संक्रमित व्यक्तिलाई भेट्न र रगत दिन परिवारका सदस्य पनि अस्पताल पुगेका थिए । उनीहरुको भने अझै कोरोना परीक्षण भइसकेको छैन ।
भेरी अस्पताल नेपालगन्जका प्रमुख डा. प्रकाशबहादुर थापा संक्रमितको सम्पर्कमा रहेका अस्पतालका सबै व्यक्तिको कोरोना परीक्षण गरिने बताउँछन् ।बाँके जिल्ला कारागारमा सात सय ७७ जना कैदीबन्दी छन् । जहाँ महिला ४९ र २ बालबालिका रहेको कारागार प्रशासनले जनाएको छ ।