कैलालीका १४ सीमा स्तम्भ बाढीले बगायो

मानबहादुर ठकुुल्ला । टीकापुर

कैलाली जिल्लामा नेपाल–भारतका १४ सीमास्तम्भ बाढीले बगाएको छ ।
सशस्त्र प्रहरी सीमा सुरक्षा बल खक्रौलाका इञ्चार्ज चन्द्रदेव भट्टका अनुसार टीकापुर नगरपालिकाभित्र पर्ने चार मुख्य र १० सहायक सीमास्तम्भ नदीको बाढीले बगाएको हो । ‘यो वर्ष सीमास्तम्भ मर्मतको काम भयो, नेपाल र भारत मिलेर सीमा रहेका स्तम्भ स्तरोन्नति गर्ने कार्य भयो’, भट्टले भने, “तर नदीमा बगेका सीमास्तम्भबारे केही गरिएन।
यस वर्ष कर्णाली नदीले दुई देशको दशजगा क्षेत्रमै वैशाख पहिलो सातादेखि नै कटान शुरु गरेको थियो। नदी कटानले यस वर्ष श्रीलङ्कामा रहेको ७०१/१ नम्बरको सहायक सीमास्तम्भ नदीले बगाएको छ । कर्णाली नदीले मात्र होइन, सीमा क्षेत्र भएर बग्ने मोहना नदीले सीमास्तम्भ बगाउँदै आएको छ। कर्णाली र मोहना नदीले टीकापुर नगरपालिकाअन्तर्गत पर्ने सहायक पिलरहरु ७०२, ७०३ र ७०४ बगाएको छ।
सीमास्तम्भ नदीमा हराउँदा नेपाल–भारतको सीमामा समेत असर गर्छ। लगातारको कटानले कैलाली र बर्दिया जोड्ने कर्णाली नदीमा रहेको सत्ती पुलसमेत कटानको जोखिममा छ। सुदूरपश्चिम प्रदेशको टीकापुर र प्रदेश नं ५ राजापुरलाई जोड्ने हुलाकी राजमार्गअन्तर्गत कर्णाली नदीको सत्तीघाटमा निर्मित पुल कटानको जोखिममा परेको हो। तीन वर्षदेखि नदी कटानले गर्दा पुलको राजापुरतर्फको किनारमा ठूलो प्वाल परेको छ। पुलको अन्तिम पिलरसँगै बनाइएको ताराजाली सहित तटबन्ध बर्सेनि भासिँदै आएको छ। टीकापुर नगरपालिका–८ वनगाउँका स्थानीय गम्भीर साउद श्रीलङ्कातर्फ नदीको कटान हुँदा पुलसमेत जोखिममा परेको बताउछन्।
“कटानले नदी गहिरो हुँदा पुल छेउको जाली भासिएको हो। हरेक वर्ष मर्मत हुन्छ, फेरि भासिन्छ, पुल नै जोखिममा परेको छ”, उनी भन्छन्। प्वाल परेको ठाउँमा तारजाली राखेर सवारी साधन आवतजावत गर्ने व्यवस्था गरिएको छ।