राजापुरमा हात्ती आतंक, १० बिगाह धान क्षति

शक्ति परियार । ईश्वरीगन्ज (बर्दिया)
बर्दियाका भारतीय सीमावर्ती बस्तीहरुमा जंगली हात्तीले आतंक मच्चाएको छ ।
बुधवार राति भारतीय जंगलबाट आएको हात्तीको झुण्डले राजापुर–९ ईश्वरीगन्जमा स्थानीयको १० बिगाहभन्दा बढी जग्गामा लगाएको धानवालीमा क्षति गरेको छ । त्यस्तै राजापुर–१० मझेराकी गीता चौधरीको घर भत्काएको छ ।
हात्तीको बथानले र्इश्वरीगन्जका जगत चौधरीको १ बिगाह १५ कठ्ठा, मोहन केसीको १५ कठ्ठा, हरिहर गौतमको १५ कठ्ठा, शिवलाल थारुको ११ कठ्ठा, लक्ष्मण थारुको ७ कठ्ठा,राम बहादुर खत्रीको ६ कठ्ठा, मानबहादुर चौधरीको ५ कठ्ठा ,लक्ष्मण चौधरीको ५ कठ्ठा, प्रेमबहादुर बुढाको ५ कठ्ठा, पुलिन्दर थारुको ५ कठ्ठा र विजय थापाको २ कठ्ठा,जग्गामा लगाएको धानवालीमा क्षति पु-याएको हो ।


भारतीय सिमावर्ती क्षेत्रका दीपनगर, तीनघरुवा, सड्कपुर, ईश्वरीगन्जलगायतका बस्तीहरुमा यतिबेला हात्ती धपाउन रातिको समयमा जाग्राम बस्न बाध्य भएका छन् । हात्ती छेकवारका लागि बनाएको विद्युतीय तारमा लामो समयदेखि करेन्ट प्रवाह नहुँदा हात्ती आउजाउ गर्न सहज भएको स्थानीय जयबहादुर साहुले बताए । दिनहुँ हात्तीले आतंक मच्चाए पनि हात्ती आतंकबाट जोगाउन स्थानीयले सरकारसँग माग गरेका छन् ।