बन्दीबन्दीमा बाँके अदालतबाट ९५ मुद्दा फैसला

नेपालगन्ज : बाँके जिल्ला अदालतले बन्दाबन्दीमा पनि मुद्दा दर्ता र फैसला गरेको छ ।
अदालतका श्रेस्तेदार तीर्थराज भट्टका अनुसार बन्दाबन्दीको समयमा ९५ वटा मुद्दाको फैसला भएको छ । यही अवधिमा ९७ वटा मुद्दा (अभियोग) दर्ता पनि भएका छन् । अदालतमै उपस्थित भएर म्याद थप गर्न सक्ने अवस्था नहुँदा भर्चुअल विधिबाट दुई सय ४७ वटा मुद्दामा म्याद थप भएकोे भट्टले बताए । ‘बन्दाबन्दीमा पूर्ण रुपमा अदालत बन्द नगरेर हामीले सक्दो सेवा दियौं । अभियोग दर्ता र फैसला भएका छन् । ३३ वटा पक्राउ पुर्जी जारी, १९ वटा फिराद दर्ता भए । पाँच सय ३१ वटा फैसला तयार भएका छन्’, उनले भने, ‘पूरानो मुद्दाको फैसला एउटा रफ्तारमा गइरहेको थियो । लकडाउनले प्रभावित बनायो ।’
लकडाउनले मुद्दा फैसला भने लक्ष्यभन्दा आधा पनि हुन सकेन । कूल मुद्दामा ३८.३३ प्रतिशत मात्र प्रगति भयो । वार्षिक लक्ष्यमा भने ४५ प्रतिशत फैसला गरेको छ । आर्थिक वर्ष ०७६/७७ मा बाँके जिल्ला अदालतमा चार हजार ८ सय ८८ मुद्दा रहेकोमा एक हजार आठ सय ७४ मुद्दा मात्र फैसला भए । चालु आर्थिक वर्षमा तीन हजार १४ मुद्दा सरेका छन् ।