आन्तरिक राजस्व र यातायात व्यवस्थाका कर्मचारीमा कोरोना संक्रमणपछि कार्यालय बन्द

नेपालगन्ज : नेपालगन्जका आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालय आइतबार बन्द गरिएका छन् ।
सेवाग्राहीको बढी चाप हुने यी कार्यालयका दुई जना कर्मचारीलाई कोरोना संक्रमण भएपछि आइतबार दुबै कार्यालय बन्द भएका हुन् ।
आन्तरिक राजस्वका अधिकृतलाई शनिबार अपरान्ह कोरोना पुष्टि भएको थियो । कार्यालयका प्रमुख प्रकाश पौडेलले बिहानै सूचना प्रकाशित गरेर एक दिनका लागि सेवा बन्द गरेको बताए । ‘कार्यालयका ६४ जनाको स्वाब संकलन भएको छ । रिपोर्ट नआउँदासम्म कार्यालयको सेवा सुचारु हुन्न’, प्रमुख पौडेलले मेरो खुसीसँग भने, ‘सोमबार रिपोर्ट आएन भने फेरि अर्को सूचना प्रकाशित गरेर सेवा बन्द भएको सूचित गरिनेछ ।’

File Photo

यातायात व्यवस्था कार्यालयका मोटरसाइकल शाखामा काम गर्ने कम्प्युटर अपरेटरमा आइतबार कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भएको खबर पाउने बित्तिकै दिउँसोदेखि कार्यालयको सेवा बन्द गरिएको थियो । ‘हाम्रो कार्यालयसमेत ४५ जनाको स्वाब संकलन गरेर कोरोना परीक्षण गराउँदा एक जनाको रिपोर्ट पोजेटिभ आयो’, कार्यालयका निमित्त प्रमुख पूर्ण खत्रीले भने, ‘दिउँसो साढे १ बजेतिर कोरोना पुष्टि भएपछि आइतबार नै पूरै कार्यालयलाई सेनिटाइज गरेका छौं । सफ्टवेयरमा समस्या आएकाले एक दिन सेवा बन्द गर्नुपर्ने अवस्था आएको सूचना प्रकाशित गरे लगत्तै कर्मचारीमा कोरोना देखियो । कहिलेदेखि कार्यालय नियमित हुन्छ भन्नेबारे अर्को सूचना प्रकाशित गरिनेछ ।’
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या चार सय चार पुगेको छ । २२ पुरुष र ८ महिला गरी ३० जना आइसोलेसनमा छन् । अन्य सबै उपचारपछि निको भएर घर फर्किसकेका छन् ।