नरैनापुर मिसन पूरा गरी नेपाली सेना फिर्ता

नरैनापुर स्थानीयसँग भलाकुसारी गर्दै सैनिक । फोटो सौजन्य : भैरवप्रसाद गण

नेपालगन्ज : नेपाली सेनाको टोली नरैनापुरबाट फिर्ता भएको छ ।
नेपालगन्जको राँझास्थित भैरवप्रसाद गणका गणपति नकुल थापाका अनुसार आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैैठकले नरैनापुरबाट सेनालाई फिर्ता गर्ने निर्णय गरेको थियो । गणपति थापाले साँझसम्म सबै टोली फिर्ता आइसक्ने बताए । बिहानैदेखि बन्दोबस्तीका सामान ओसार्ने काम भइरहेको छ । ‘नरैनापुरका क्वारेन्टाइन व्यवस्थापन, सिल गरिएको क्षेत्रलाई अनुगमन, लकडाउन प्रभावित गर्न बनाउन, शान्ति सुरक्षालाई सहज बनाउने हामीलाई जिम्मेवारी दिइएको थियो’, गणपति थापाले भने, ‘नरैनापुरमा शान्ति सुरक्षामा सुधार आएको छ । विपद्मा खटाउनु पर्ने भएकाले टोलीलाई फिर्ता बोलाइएको हो ।’
नरैनापुरको क्वारेन्टाइनमा बसेका ब्यक्तिलाई आइसोलेसनमा ल्याउँदा स्थानीयले विरोध गरेपछि जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्ने निर्णय गरेको थियो । ११ जेठदेखि नरैनापुरमा मेजर सुरेशकुमार श्रेष्ठको कमाण्डमा ४५ जनाको एक प्लाटुन नेपाली सेना टोली जय किसन मावि परिसरमा अस्थायी क्याम्प बनाएर बसेको थियो । फिर्ता हुनु अघि २० जना सेनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए ।

कुनै बेला देशकै सबैभन्दा बढी कोरोना संक्रमित रहेको नरैनापुर कोरोना मुक्त भइसकेको छ । नरैनापुरमा १ सय १९ जना संक्रमित रहेकोमा सबै निको भएर घर फर्किसकेका छन् । नरैनापुर ५ का २५ वर्षका एक युवकको भने क्वारेन्टाइनमै बसेको बेला मृत्यु भएको थियो ।