२०० बाढीपीडित परिवारलाई राहात

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाका बाढी पीडितहरुलाई राहात बाँडिएको छ ।
सामाजिक विकासका लागि सचेत समाज धनगढी र केयर नेपालको सहयोगमा टीकापुर ७ का विभिन्न टोलका एक सय १८ र जोशीपुर गाउँपालिकामा पनि ८२ घरपरिवारलाई राहात वितरण गरेको संस्थाका अध्यक्ष बलबहादुर शिलाधरले बताए । प्रति परिवार दुई किलो चिउरा, एक किलो भुजा, २ दर्जन बिस्कुट र १ केजी चिनी वितरण गरिएको हो ।
कैलाली जिल्लाको भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा ६ हजार भन्दा बढी घरधुरी बाढीबाट प्रभावित भएका थिए । ती मध्ये २ हजारभन्दा बढी परिवार विस्थापित भएका छन् ।