कोरोना संक्रमित नेपालगन्ज-१ का वडा अध्यक्ष रिजाल भन्छन्, ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ’

नेपालगन्ज : कोरोना संक्रमितको पहिचान राज्यले नै गोप्य राख्छ । संक्रमित पनि नाम सार्वजनिक गर्न चाहँदैनन् । सोमबार बिहानदेखि मध्यान्नसम्म नेपालगन्जका एक वडा अध्यक्षलाई कोरोना संक्रमण भएको खबर सन्सनी भयो । भेरी अस्पताल नेपालगन्जले प्रकाशित गरेको सूचनामा नेपालगन्ज–१ बाँकेका ४७ वर्षका पुरुष जनप्रतिनिधि भनेर सार्वजनिक ग¥यो । धेरै जिज्ञासु भए, त्यो जनप्रतिनिधि को होला ?
भेरीले रिपोर्ट सार्वजनिक गरेको हाराहारीकै समयमा जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले फेसबुकमा कोरोना रिपोर्ट अपलोड गर्दै स्याम्पल कलेक्सन गरेको स्थान नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय लेखे तर उनले पेशा सामाजिक क्षेत्र र कार्यक्षेत्र नेपालगन्ज उपमहानगरपालिका उल्लेख गरे । लगत्तै मिडियाबाट नेपालगन्जमा वडा अध्यक्षलाई र एक जना कर्मचारीलाई कोरोना भएको समाचारहरु आए । भेरी र जिल्ला स्वास्थ्यको रिपोर्टले ठेगाना नेपालगन्ज–१ लेख्नु र मिडियाले वडा अध्यक्ष मात्र लेख्दा पनि संक्रमित व्यक्ति नेपालगन्ज १ का वडा अध्यक्ष प्रमोद रिजाल हुन् भन्ने सबैले सहजै अनुमान गरेको देखिन्छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता समेत रहेका नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजालले दिउँसो एक सन्देश दिँदै ‘वडा कार्यालयको काममा निरन्तर खटिरहेको अवस्थामा १९ साउनमा मलाई कोरोनाको संक्रमण देखियो’ भनेर सार्वजनिक भए । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका रिजालले भनेका छन् ‘मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस परिस्थितिमा शुभेच्छा र सद्भावका लागि धन्यवाद ।’