नेपालगन्ज उपमहानगरका १ वडा अध्यक्ष, ६ अधिकृतसहित ७ कर्मचारीमा कोरोना

स्रोत : जिल्ला स्वास्थ्य कार्यालय बाँके

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार सोमबार एक जना वडा अध्यक्ष र सात जना कर्मचारी हुन् । संक्रमित हुने जनप्रतिनिधि नेपालगन्ज–१ का वडा अध्यक्ष प्रमोद रिजाल हुन् ।
नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दका अनुसार ७ जना कर्मचारी संक्रमित भएकोमा ६ जना अधिकृत स्तरका कर्मचारी हुन् । ३ जना वडामा कार्यरत छन् भने अन्य ४ जना उपमहानगरपालिकाको कार्यालयका हुन् । १६ साउनमा नेपालगन्ज उपमहानगर परिसरमा जनप्रतिनिधि र कर्मचारी गरी ६५ जनाको स्वाब संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख चन्दले बताए । जनप्रतिनिधि र कर्मचारीमा कोरोना संक्रमित देखिएपछि नेपालगन्ज उपमहानगरपालिकाको कार्यालय शिल गरेको छ ।