चुके दम्पत्तिद्वारा ओम शान्तिमा अटोमेटिक स्यानिटाइजर मेसिन सहयोग

नेपालगन्ज : बाँकेको जनमत अर्द्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके र प्रकाशक सुशीला चुकेले ओम शान्तिको ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालगन्ज सेवा केन्द्रलाई अटोमेटिक स्यानिटाइजर मेसिन सहयोग गरेका छन् ।
हिन्दू धर्मावलम्वीहरुको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक पर्व, प्रेम, स्नेह र सद्भावको पवित्र पर्व रक्षाबन्धनको अवसरमा चुके दम्पत्तिले उपलब्ध गराएको अटोमेटिक स्यानिटाइजर मेसिन केन्द्रका लागि एकदमै उपयोगी भएको ब्रह्माकुमार कृष्णले बताए ।
एक दशक भन्दा बढी समयदेखि नियमित रुपमा ब्रह्माकुमारीबाट राखी ग्रहण गर्दै आएका पत्रकार चुकेले कोभिड–१९ को बढ्दो संक्रमण र निषेधाज्ञाका कारण यो वर्ष उपस्थिति हुन नसकेको बताए । उनले भने, ‘यसअघि सधैं ओम शान्तिमा राखी बाँध्न जान्थे । यो वर्ष जान नपाए पनि धेरै श्रद्धालुहरुको आवागमन हुने उक्त केन्द्रमा सबैको स्वास्थ्य सुरक्षाको लागि स्यानिटाइजर मेसिन उपहार दिन पाएकोमा मनमा सन्तोष भएको छ ।’

कोरोना नियन्त्रणका लगाएको निषेधाज्ञाका कारण बाँकेमा रक्षाबन्धन पर्व प्रभावित भएको थियो । ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयमा हरेक वर्ष एक हजारभन्दा बढी जनालाई राखी बाँध्ने गरिए पनि कोरोनाका कारण यो वर्ष भने ब्रह्माकुमारीहरुले तीन ५० जना केन्द्रका सदस्यहरुलाई राखी बाँधेका थिए । नेपाल उद्योग वाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ भने केन्द्रमा पुगेर राखी बाँधेर शुभकामना दिएका थिए । श्रेष्ठलाई केन्द्रका क्षेत्रीय प्रमुख ब्रह्माकुमारी दुर्गा र केन्द्रकी सह प्रमुख ब्रह्माकुमारी मुनाले राखी बाँधेका थिए ।
कोभिड–१९ संक्रमणको विषम परिस्थिति र निषेधाज्ञाका कारण यसपटक आउन चाहने भएका महानुभावहरु आउन नसकेको केन्द्रका क्षेत्रीय प्रमुख ब्रह्माकुमारी दुर्गाले जानकारी दिइन् ।
विगतमा सरकारी, गैरसरकारी विशिष्ठ व्यक्ति, बाहेक घर जान नपाइ पर्व मनाउन बञ्चित प्रहरी, प्रशासन, सैनिक, कारागार, सीमा पारी एसएसबी व्यारेकका सुरक्षाकर्मी, मजदुरहरु गरी एक हजारभन्दा बढी सर्वसाधारण ब्रह्माकुमारीमा राखी बाँध्न जाने गरेका थिए ।