घरेलु कार्यालय बाँकेका अधिकृत विरुद्द मुद्दा दायर
नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुम बहादुर ओली विरुद्ध मुद्धा दर्ता गरेको छ । केहीदिन अघि ठेक्का पट्टाको अनुमतिपत्र बनाईदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग ९६ हजार ३ सय घुस सहित पक्राउ परेका ओलीले भ्रष्टाचार गरेको पुष्टि भएको भन्दै अख्तियारले आज विशेष अदालतमा आरोप पत्र दायर गरेको जनाएको छ ।
अनुसन्धानको सिलसिलामा उद्योग अधिकृत ओलीले सेवाग्राहीले पेश गरेका कागजातहरु पुरा भएका छैनन् बाँकी रहेका कागजातहरु पेश नगरे काम नहुने डरत्रास देखाई बाँकी रहेका मेशिनरी उपकरण किनेका कागजातहरुसमेत आफैले बनाईदिने आशा देखाई उद्योग दर्ताको प्रमाणपत्र उपलब्ध गराउने बहानामा घुस लिएका थिए । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएकोले निजलाई बिगो रु.९६ हजार तीन सय रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदाबी लिई मुद्दा दायर गरेको अख्तियारको भनाई छ ।