भजनीका ११७ बाढीपीडित पुनः विस्थापित
मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनी नगरपालिकाका बाढी पीडित परिवार पुनः विस्थापित भएका छन् । शनिबार रातिदेखि निरन्तर वर्षा भएपछि भजनीमा पुनः बाढी आउँदा भजनी ८ का ११७ परिवार विस्थापित भएका छन् ।
घर फर्किएको ३ दिनमै पुनः विस्थापित हुनुपरेको बाढी पीडितको गुनासो छ । पीडित धनकला विकको परिवार एक साता पथरैया पुलको बासपछि तीन दिनअघि पानी सुकेपछि घर फर्किएको थियो । विकको परिवारले भत्केको घर मर्मतको तयारी थालेको थियो तर सोमबार बिहानै गाईभैंसी र बालबच्चासहित पुनः सडकमा फर्किएको छ । ‘अन्नपात केही रहेन, लुगाकपडा सबै बगे’, विकले भने, ‘ज्यालादारी गरेर भए पनि पेट पालौला सोँचेका थियौँ तर घरमा बस्नै नपाइने भयो ।’ विकले बाढीले भजनीमा उठिबास लगाएपछि धेरै चिन्ता बढेको बताए । ‘‘भोक मेट्न नपाएपछि मानिसको दिमागले काम गर्छ र ?’, विकले गुनासो गर्नुभयो, ‘सरकार छ आउँछ, सरकारले पनि के गरोस्, चिउरा, चाउचाउ दिएको छ । हिजो एक कट्टा चामल दिएको थियो, आज त्यही बोकेर पुलमा फर्कियौँ ।’
शनिबार रातिदेखि निरन्तर अविरल वर्षा भएपछि भजनी ८ खल्लाटोल सोनाहफाँटाका ४०, डाढाटिकका ५२ र कृष्णनगरका २५ परिवारले घर छोडेका छन् । विस्थापित परिवार पथरैया नदीको पुलमाथि पाल टाँगेर बस्न थालेको स्थानीय जयप्रसाद ढुंगानाले जानकारी दिए । ‘बाढी बस्तीमा पसिसकेको छ, पानी रोकिने छाँटकाँट छैन’, ढुंगानाले भने, ‘त्रासमा रहेका पीडितले घर छोड्न थाले ।’ ढुंगानाका अनुसार बस्ती जलमग्न भएको छ । पथरैया, काढा र कान्द्रा नदीको पानी बस्ती पस्ने जोखिम बढेको छ ।
मौसम विज्ञान विभागले वर्षा अझै जारी रहने भएकाले तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा बस्न सूचनासमेत गरेको छ । विभागले चिसापानी, टीकापुर, भजनी क्षेत्रका साना तथा ठूला नदीमा पानीको वहाव बढ्न सक्ने चेतावनीसहितको सूचना दिएको छ ।