कर्णाली नदीले खतरातह पार ग-यो, उच्च सर्तकता अपनाउन आग्रह

राजापुर बर्दिया: केहीदिनदेखि लगातार रुपमा पहाडी क्षेत्रमा परेको अविरल बर्षाका कारण कर्णाली नदीमा पानीको सतह बढेको छ । कैलालीको चिसापानीस्थित जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको सतह खतरा तह पार गरेको हो । सोमबार ६ः ४० बजे सम्मको रेकर्ड अनुसार चिसापानीमा पानीको सतह १० दशमलव १३ मिटरमा पुगेको छ । कर्णालीमा १० दशमलव ८ मिटरभन्दा माथि पानीको सतह पुगेमा खतरा मानिन्छ । त्यहाँ १० मिटर पानीको सतह भए नदी तटीय क्षेत्र अन्तगर्त बर्दिया र कैलालीका बस्तीमा सतर्कता अपनाउन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ ।

कर्णाली नदीमा पानीको सतह बढ्दै गएपछि जिल्ला विपत व्यवस्थापन समिति बर्दियाले एक सूचना निकालेर नदी आसपासको क्षेत्रमा बस्ने स्थानीय वासीन्दालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ । केहीदिन अघि मात्रै बाढी आएको बर्दियाको राजापुर र गेरुवा गाउँपालिकाका केही भागमा बाढीपस्न थालेको बताईएको छ । राजापुर १ दौलतपुरमा रहेको भदाली नालालाई कर्णाली नदीले थुनेर बाढी गाउँ पस्न शुरु गरेको स्थानीय लोकराज ढुंगानाले बताए । अहिले तटीय क्षेत्रका बस्तीहरुमा साइरन बजाएर स्थानीयलाई सुरक्षित स्थानमा राख्न थालिएको उनको भनाई छ ।