लकडाउनमा १४ आमा र ११० नवजात शिशुको मृत्यु
नेपालगन्ज : बाँकेका तीन ठूला अस्पतालमा लकडाउनको अवधिमा १४ गर्भवती/सुत्केरी (मातृमृत्यु) भएको छ भने एक सय १० जना नवजात शिशुको ज्यान गएको छ ।
लकडाउनमा सबैभन्दा बढी भेरी अस्पतालमा ७ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ६ जना र शिक्षण अस्पताल नेपालगन्जमा एक जना गर्भवती/सुत्केरी महिलाको ज्यान गएको हो । गत वर्ष (आर्थिक वर्ष ०७६/७७) मा २९ जना महिलाले सुत्केरी हुने क्रममा ज्यान गुमाएका थिए । लकडाउनको अवधिमा मात्र ज्यान गुमाउने महिला ४८.२७ प्रतिशत हो ।
भेरी अस्पतालको प्रसुती वार्डकी नसिङ अधिकृत शीला शर्मामा अनुसार १३ मातृमृत्यु भएको हो । जसमा बाँकेका सात र ३ जना बर्दियाका हुन् । उनले अधिकांश मृत्यु भएका महिला गम्भीर अवस्थामा अस्पताल पुगेका थिए ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका तथ्याङ्क शाखामा कार्यरत दुर्गा बस्यालका अनुसार गत वर्ष १२ मातृमृत्युमा ६ जना लकडाउन अवधिका हुन् । अस्पतालमा ६ हजार एक सय १२ महिला सुत्केरी भएका थिए । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा गत वर्ष ४ जना सुत्केरी/गर्भवती महिलाको मृत्यु भएको अस्पतालको प्रशासन शाखा प्रमुख कुमार अधिकारीले जानकारी दिए । मृत्यु हुनेमा एक जना बाँकेकी महिला हुन् ।
गत वर्ष बाँकेमा १० मातृमृत्युमा ६ जना लकडाउन अवधिका रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कार्यालयकी पब्लिक हेल्थ नर्स विष्णु श्रेष्ठका अनुसार चैत्र, वैशाख, जेठ र असारमा मात्र ६ जना महिलाको मृत्यु भयो । अर्थात लकडाउनमा ६० प्रतिशत गर्भवती÷सुत्केरी महिलाले ज्यान गुमाए । मृतक ९ जनाको भेरी अस्पतालमा र एक जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृत्यु भएको थियो ।
गएको एक वर्षको अवधिमा तीन वटै अस्पतालमा गरी १४ हजार पाँच सय ७१ महिला सुत्केरी भए । तीमध्ये १४ हजार ७७ शिशु जिवित जन्मे । मृत जन्म र जन्मेको ७ देखि २८ दिनभित्र गरी पाँच सय ७० शिशुको ज्यान गयो । लकडाउनको अवधिमा मात्र एक सय १० शिशुको ज्यान गएको छ । जुन कूल बालमृत्युको १९.२९ प्रतिशत हो ।
भेरी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.कुमार सान शाह लकडाउनमा सबैभन्दा बढी मारमा सुत्केरी नै परेको बताउँछन् । ‘२० प्रतिशत सुत्केरीहरु त बेथा लागेपछि मात्र अस्पताल आएका थिए । मृत्यु हुने मध्ये धेरैले त एक पटक पनि गर्भ जाँच गराएका थिएनन्’, डा.शाह भन्छन्, ‘सुत्केरी हुने बेलामा जटिल स्वास्थ्य समस्या भएपछि ढिलो अस्पताल पुग्ने भएकाले ज्यान बचाउन नसकिएको हो ।’ भेरी अस्पतालकै अर्की स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापा त अझैं पनि बच्चा जन्माउनुलाई सामान्य प्रक्रियाका रुपमा बुझ्ने समुदायका कारण पनि महिलाको ज्यान जाने गरेको बताउँछिन् ।