बर्दियामा जारी निषेधाज्ञा तीन दिन थप

गुलरिया: बर्दियामा जारी निषेधाज्ञा तीन दिनका लागि थप गरिएको छ ।

विहिबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न श्रावण ३२ गते सम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको बैठकले जोखिमयुक्त क्षेत्रमा परिक्षणको दायरा बढाउन तत्काल एकहजार थान भिटिएम आवश्यक भएकोले प्रदेश नम्वर ५ को सामाजिक विकास मन्त्रालयसंग माग गर्ने निर्णय समेत गरको छ ।
बैठकले मुक्तीनाथ विकास बैंक गुलरिया र सिटिजन्स बैंक बढैयातालका केही कर्मचारीमा कोरोना देखिएकोले दुबै बैंकमा कार्यरत कर्मचारीहरुको तत्काल पिसिआर परिक्षण गराउने र त्यसको नतिजा प्राप्त नहुँदा सम्म सिल गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले जानकारी दिए । त्यस्तै हिन्दु नारीहरुको महान पर्व हरीतालिका तिज समेत आ आफ्नै घरभित्र रही स्वास्थ्यका मापदण्ड पालना गरेर मनाउन अनुरोध गर्ने निर्णय भएको उनको भनाई छ ।